गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी, यस्तो सजाय हुनसक्ने !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ५ माघ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । राउतविरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा आइतबार पक्राउ पुर्जी जारी भएको हो ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरीमाथि गायिका राउतले दुर्व्यवहार गरेको भन्दै उजुरी दर्ता भएको थियो ।

राउतलाई प्रहरीले पक्राउ गर्ने तयारी थालेको जनाइएको छ । प्रहरीका अनुसार अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल र १ लाख सम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा बसेकी महिला प्रहरीले आफूलाई ‘तँ’ भन्दै दुर्व्यवहार गरेको उनको दाबी छ । उक्त घटनाको सीसीटिभी फुटेज प्रहरीले सार्वजनिक गरिसकेको छ । फुटेजमा आस्था र प्रहरीबीच विवाद भएको देखिए पनि आवाज नभएकाले अपशब्द प्रयोग भएको वा नभएको यकिन गर्न सकिंदैन ।

अहिले सामाजिक सञ्जालमा आस्थाको पक्ष र विपक्षमा बहस तीव्र छ । धेरैले चाहिँ आस्थाकै गल्ती औंल्याएका छन् । हुन पनि प्रहरीलाई मर्यादित बन्न सिकाउने आस्थाले फेसबुक लाइभमा आफैं अमर्यादित भाषा प्रयोग गरेकी थिइन् । उक्त घटनामा संलग्न महिला प्रहरी रमिता श्रेष्ठले आस्थाविरुद्ध प्रहरीमा अभद्र व्यवहारको उजुरी गरिन् । त्यसैका आधारमा प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको हो ।

एउटी चर्चित गायिकालाई संकट आइलाग्दा कलाक्षेत्रका व्यक्तिहरु भने अधिकांश मौन छन् । जसले मुख खोलेका छन्, उनीहरु पनि आस्थालाई समर्थन गर्न सकेका छैनन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।