नांगो फोटो भाइरल बनाइदिन्छु भन्दै ब्ल्याकमेल गरेर पटक पटक बलात्कार गर्ने युवक पक्राउ

हाम्रो सन्देश संवाददाता

विराटनगर, ५ माघ ।

मोरङको पथरीशनिश्चरेमा ‘ब्ल्याकमेल’ गरेर एक २२ वर्षीया विवाहित युवतीमाथि बलात्कार भएको छ। बलात्कारको अभियोगमा पथरीशनिश्चरे नगरपालिका ७ का २५ वर्षीय रविन आचार्य पक्राउ परेका छन् ।

तीन महिनादेखि विभिन्न खाले डर देखाएर ‘ब्ल्याकमेल’ गर्दै प्रभावमा पारेर बलात्कार गरिरहेको किटानी जाहेरी परेपछि घटनाको अनुसन्धानका लागि आचार्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए । उनकाअनुसार प्रारम्भिक अनुसन्धानबाट सात पटक भन्दा बढी बलात्कार गरेको खुलेको छ ।

पछिल्लो पटक चार दिनअघि बलात्कार गरेको खुलेको छ । प्रहरीका अनुसार फेसबुकमार्फत युवाले ‘ब्ल्याकमेल’ गरेको पुष्टि भएको छ। ‘ब्ल्याकमेल’ गरिएका धेरै प्रमाण प्रहरीले जुटाएको छ। फेसबुकमा जोडिएका दुवै जनाबीच कुराकानी हुने गरेको र त्यसक्रममा युवाले ‘ब्ल्याकमेल’ गरेको डीएसपी गिरीको भनाइ छ ।

उनकाअनुसार ‘मसँग तिम्रो नांगो फोटो छ । त्यसलाई भाइरल बनाइदिन्छु । यदि नगर्नु हो भने मैले भनेको मान्नुपर्छ,’ भनेर युवाले युवतीसँग ‘ब्ल्याकमेल’ गरेको खुलेको छ। त्यसपछि शरण पर्न गएकी युवतीलाई आचार्यले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी गिरीले बताए ।

उनकाअनुसार सामाजिक सञ्जालमा फोटो भाइरल बनाइदिन्छु भन्दै पटक पटक ‘ब्ल्याकमेल’ गरेर बलात्कार गर्ने गरेको कुरा युवतीले आफ्ना श्रीमानलाई सुनाइन् ।त्यसपछि पारिवारिक सल्लाहअनुसार नै युवतीले प्रहरीमा जाहेरी दिएकी हुन् । युवाले पनि आफूले सात पटकसम्म बलात्कार गरेको स्वीकार गरेका छन् । ‘अरु केटाले फेसबुकको ‘ग्रुप म्यासेन्जर’ बाट नांगो फोटो भाइरल बनाइदिने भन्दै युवतीलाई डर देखाएछन् ।

त्यसपछि ती युवती मसँग शरणमा आइन्,’ प्रारम्भिक अनुसन्धानका क्रममा युवाले भनेको कुराको जानकारी दिँदै डीएसपी गिरीले भने, ‘मैले पनि भाइरल बनाउनबाट जोगाउनुपर्ने भए आफूले भनेको कुरा मान्नुपर्छ भन्ने सर्त राखेँ । त्यसमा युवतीको पनि सहमति थियो।’

प्रहरीले युवतीलाई आफ्नो फेसबुक म्यासेन्जरमा विभिन्न हिसाबले ‘ब्ल्याकमेल’ गर्दै नांगा फोटा पठाउन प्रस्ताव गर्दै दबाब दिएको पनि खुलेको छ । युवाले बलात्कारका लागि ‘ब्ल्याकमेल’ गरेका धेरै प्रमाण प्रहरीसँग सुरक्षित रहेको डीएसपी गिरीले बताए । पक्राउ परेका आचार्यविरुद्ध आइतबार जबरजस्ती करणी मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।