शिक्षकहरुको कुटपिटबाट कक्षा ९ मा अध्ययनरत माधवको ज्यान गयाे

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ५ माघ ।

भीमदत्त नगरपालिका–१७ मा रहेको महाकाली बाल विद्यालय मझगाउँमा शिक्षकहरुको कुटपिटबाट घाइते भएका कक्षा ९ मा अध्ययनरत विद्यार्थी माधव कलौनीको उपचारको क्रममा मृत्यु भएको छ । कलौनीको भारतस्थित राजमुर्ति अस्पतालमा गए राति मुत्यु भएको हो । विद्रोही नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष नरेन्द्र भाटले बुधबार विज्ञप्ति निकाली घटनाको सत्यतथ्य छानविन गरी दोसीउपर हदैसम्मको कारवाहीको माग गरेका छन् ।

विद्यालय बाहिर साथीभाइसँग झै–झगडा गरेको विषयलाई आधार बनाएर विद्यालयका प्रधानाध्यापक सहितका शिक्षकले कलौनीलाई कुटपिट गरेको उनको परिवारले जनाउदै आएका थिए । नौ कक्षामा अध्ययनरत कलौनीलाई गत शुक्रबार विद्यालयमै कुटपिट गरेको उनका बुवा बृहस्पति कलौनीले बताए ।‘प्रधानाध्यापक यशोदा जोशी, शिक्षकद्वय लक्ष्मणदत्त भट्ट र दुर्गादत्त पाठकले छोरालाई कुटपिट गरेर घाइते बनाए,’ उनले भने ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।