मुख्यमन्त्री सहित आधा दर्जन मन्त्रीलाई जुत्ता हानेको आरोपमा ४ जना पक्राउ

हाम्रो सन्देश संवाददाता

जनकपुर, ४ माघ ।

जनकपुरको जिरोमाईलमा मुख्यमन्त्री सहित आधा दर्जन मन्त्रीलाई जुत्ता हानेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेका छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास न्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय र समाजिक विकास मन्त्री नवलकिशोर साहले आ–आफ्ना मातहतका मन्त्रालयले उपभोक्ता समितिमार्फत भौतिक विकास निर्माण कार्य सम्पन्न गरे पनि हालसम्म भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले शुक्रबार जनकपुरमा प्रदर्शनसहित उनीहरूको राजीनामा माग गरेको छ ।

प्रदर्शनकारीहरूले प्रदेश( २ का मुख्यमन्त्रीसहित माथि उल्लिखित मन्त्रीहरूको तस्वीरमा जुत्ता प्रहार गरेर सांकेतिक विरोध जनाएका हुन् । उपभोक्ता समितिले मुख्यमन्त्री राउतदेखि अन्य मन्त्रीहरुलाई सार्वजनिक स्थलमै जुत्ता हान्न थालेपछि प्रहरीले धरपकड थालेको थियो । शान्तिपूर्ण रुपमा पदर्शन तथा विरोध जनाइरहँदा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश चौधरी र शंकर साहलाई तत्कालै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषा लगेको छ ।

गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत वितरण गरिएका ८४२ योजनामध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । प्रदेश सरकारले बक्याौता रकम भुक्तानी नगरेको भन्दै केही दिन देखि निरन्तररुपमा उपभोक्ता समितिहरु आन्दोलनमा उत्रेका छन् । यसअघि उपभोक्ता समितिहरुले प्रदेशसभा घेराउ गरेर प्रदर्शन, पूर्वाधार विकास कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।