युरेनियम बेच्न सके नेपाल विश्वकै धनी देश बन्ने, एक केजी कै १८ अर्ब

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ माघ ।

युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो । २ सय ३८ परमाणविक धार हुने यो धातुले लगातार ऊर्जावान विकिरणहरू फ्याँकिरहने भएकाले यसको सिमित आयु हुन्छ ।

विशेषज्ञहरू युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् । यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ ।

युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम-२३८ र युरेनियम-२३५ । प्राकृतिक रूपमा युरेनियम-२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम-२३५ बनाइन्छ ।

एक किलो युरेनियम-२३५ को परिमाणबाट उत्पादित विधुत् शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ । तर, एक किलो युरेनियम-२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ ।

नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रित युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ ।

ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ । अमेरिकी ऊर्जा मन्त्रालयको आधिकारकि वेबसाइट एनबीएल डट डीओई डट जीओभीका अनुसार १० ग्राम शुद्ध युरेनियम जसलाई ‘युरेनियम-२३५’ भनिन्छ, को अन्तर्राष्ट्रिय बजारको वैध मूल्य २० लाख ९ हजार अमेरिकी डलर (करीब १८ करोड रुपियाँ) पर्छ ।

यस आधारमा एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करीब १८ अर्ब रुपियाँ) पर्न आउँछ, जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो ।

नेपालको प्रतिव्यक्ति आय संसारकै धेरै

यदि युरेनियमको उत्खनन गरेर अन्तर्राष्ट्रिय बजारमा बेच्न सकियो भने नेपालीहरूको प्रतिव्यक्ति आय संसारकै सबैभन्दा धेरै हुन सक्ने विज्ञ हरू बताउँछन् ।

खानी तथा भूगर्भ विभागको अनुसन्धानका अनुसार नेपालका धेरै ठाउँहरुमा युरेनियम पाइने सम्भावना देखिन्छ ।

गत असारमा सरकारले रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्ने विधेयक तयार पार्यो । त्यसयता नेपालमा युरेनियमको चर्चा व्हात्तै बढेको छ ।

नेपालका विभिन्न ठाउँहरूमा युरेनियम पाइने चर्चा पहिल्यैदेखि थियो तर सरकारले विधेयक नै ल्याएपछि यसको बारेमा बहस बढेको छ ।

परराष्ट्रविद तथा रुसका लागि नेपालका राजदूत रहिसकेका हिरण्यलाल श्रेष्ठले केही साताअघि नेपालको युरेनियममा रूसको चासो रहेको हुन सक्ने सम्भावना व्यक्त गरेका थिए ।

नेपालमा युरेनियम रहेको पुष्टि भएसँगै रुसमात्र नभएर अमेरिका र भारतसमेतको विशेष चासो रहेको श्रेष्ठले बताएका हुन् ।

तर नेपालमा कति छ त युरेनियम ?

खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङको लोमाङथाङमा १० किमि लम्बाइ र तीन किमि चौडाइ क्षेत्रमा बहुमूल्य धातु युरेनियम भण्डार भएको पुष्टि गरेको थियो । उक्त तथ्य सार्वजनिक भएसँगै नेपाली सेनाको एक टोलीले सो क्षेत्रको निगरानी गर्दै आइरहेको छ ।

विज्ञहरूका अनुसार सो क्षेत्रमा ३५ टनसम्म युरेनियम हुन सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा १ केजी शुद्ध युरेनियमको मूल्य १८ करोडससम्म रहेको छ ।

मुस्ताङमा मात्र नभएर मकवानपुर धियालको तीनभंगाले, मकवानपुरकै चिरुवा र चाँदेखोला, काठमाडौंको उत्तर पश्चिमी क्षेत्र, शिवपुरी, नुवाकोटको ककनीलगायतका भेगमा समेत युरेनियम रहेको विभागले बताएको छ । अहिलेसम्मको अध्ययनअनुसार ठूलो र फराकिलो खानी भने लोमाङथाङमा रहेको पुष्टि भएको हो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।