श्री एयरलाइन्सको उडान अब जनकपुर र सिमरामा पनि

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ पुष ।

निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी श्री एयरलाइन्सले थप दुई गन्तव्यमा उडान अनुमति पाएको छ। यो वायुसेवाले एक महिना अगाडि नै परीक्षण उडान गरेको भए पनि हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले यतिबेला श्रीलाई जनकपुर र सिमरा उडानको अनुमति दिएको हो।

‘प्राधिकणले शुक्रबार यी दुई गन्तव्यमा उडान अनुमति दिएको भए पनि नियमित उडानको तालिका स्वीकृत र उडान सुरु भने माघ १ गतेबाट मात्रै गर्छौं’, श्री एयरलाइन्सका कर्पोरेट प्रवन्धक अनिल मानन्धरले भने। उनका अनुसार काठमाडौंबाट जनकपुर र सिमरामा दैनिक १/१ उडान गर्ने भएको छ। पहिलो उडान सुरु काठमाडौंबाट जनकपुर र त्यसपछि सिमरा गर्ने गरी तयारी भएको मानन्धरले जानकारी दिए।

जनकपुरमा काठमाडौंबाट दैनिक मध्याह्न १२ बजे जाने र साढे एक बजे फर्कने भएको छ। यो गन्तव्यको भाडा न्यूनतम ३४ सय रुपैयाँ र अधिकतम ४३ सय रुपैयाँ तय भएको श्रीले जानकारी दिएको छ। यस्तै काठमाडौंबाट सिमरा विहान साढे आठ बजे जाने र ९:२० बजे फर्कने पनि उल्लेख छ। यो गन्तव्यमा न्यूनतम भाडा २७ सय रुपैयाँ र अधिकतम ३१ सय रुपैयाँ तय भएको एयरलाइन्सको भनाइ छ। भाडादर बजारको मागका आधारमा हुने भएकाले न्यूनतमभन्दा कम र बढी पनि हुने गर्छ।

हाल यो वायुसेवाले काठमाडौंबाट माउन्टेनसहित धगनढी, भन्द्रपुर, विराटनर, राजविराज, जनकपुर, भैरहवा र नेपालगन्जमा उडान गर्दै आएको छ। मानन्धरका अनुसार श्रीले पछिल्लो सयम भित्र्याएको ८० सिट क्षमताको क्यू ४०० नामक जहाजले यी गन्तव्यमा उडान गर्ने भएका छन्। पोखरा पनि एक दुई दिनमै परीक्षण उडान अनुमति पाउने चरणमा पुगेका छौं।

श्रीसँग हाल सीआरजे २०० नामका दुई वटा र सीआरजे ७०० नामका अर्को दुईवटा जहाज छ। जम्मा ६ वटा जहाज रहेको यो वायुसेवाले तीन वटा थप गरेर बजार हिस्सा बढाउने रणनीति पनि लिएको उल्लेख छ।

श्रीले काठमाडौंबाट जनकपुर २० मिनेटमा र सिमराबाट काठमाडौं १५ मिनेटमा उडान गरेको हो। काठमाडौंबाट छोटो गन्तव्यको उडान भएपछि एकैपटक धेरै यात्रुलाई सेवा दिन सकिने भएकाले नियमित सेवा दिन सकिने बुझाइ श्रीको छ।

पोखरासहित श्रीको जनकपुर र सिमरामा हालसम्मकै ठूलो क्षमतामा जहाज जाने भएको छ। हाल आन्तरिक गन्तव्यमा ७२ सिट क्षमताको एटीआर नामक जहाज जाने गरेका छन्। श्रीले अनुमति पाएपछि अब भने छोटो समयको उडान गन्तव्य भए पनि श्रीले एकैपटक ८० सिट क्षमताको जहाजबाट यात्रु सेवा दिने भएको छ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले रनवे र ट्याक्सी वेको क्षमता निर्धारण अर्थात पेभिमेन्ट क्लासिफिकेसन नम्बर (पीसीएन) नदिएका कारण यी दुई विमानस्थलमा श्रीले उडान गर्न पाएको थिएन।

श्रीले हाल ८० सिट क्षमतको क्यू ४०० बाट हाल विराटनगर, नेपालगन्ज र धनगढीमा दैनिक १/१ उडान गर्दै आएको छ। श्रीसँग ८० सिट क्षमताको यस्तो जहाज दुईवटा छ। अन्य चारवटा सीआरजे नामका जहाज छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।