श्री स्वस्थानीको व्रत बस्नाले मिल्नेछ यस्ता फल

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

आजबाट श्री स्वस्थानी व्रत शुरु भएको छ । स्कन्द पुराणको हिमालय खण्डमा यसको महिमाबारे वर्णन गरिएको छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । “स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ”, उनले भने ।

यस्ती देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास छ । रोग–ब्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । यस पूजामा वालुवाको शिवलिंग बनाइ अर्चना गरिने भएको हुँदा विशेष महत्व छ । यो व्रत बस्नाले तत्काल फल पाइने विश्वास गरिन्छ । नियम र विधिपूर्वक, मन वचन र कर्मले स्वस्थानीको व्रत बस्नुपर्छ ।

अष्ट मातृका अर्थात आठवटा देवीको बिचमा रहनुभएकी यी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ । हिन्दू शास्त्र अनुसार भगवान विष्णु स्वयंले माता पार्वतीलाई स्वस्थानी माताको व्रत बस्ने विधी ज्ञानोपदेश दिनुभयो र स्वयं नारायणले पूर्ण ज्ञान, व्रत कथा र व्रत साङ्ग्गे पनि गुरु स्वरुप भई माता पार्वतीको स्वस्थानी व्रत पूर्ण गरिदिनुभयो । माता पार्वतीले स्वस्थानी (अष्टमातृका, त्रिदेवी, लक्ष्मी, सरस्वती, गायत्री) माताको व्रत फलस्वरुप श्री महादेव स्वामी पाईन् र गुरु नारायणको आशिर्वादमा कैलाश पाइन् ।

सोही अनुरुप अहिलेसम्म गुरु श्री श्री श्री माधवनारायण भगवानलाई साक्षी राखि यो व्रत निरन्तररुपमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिदै आएको पाइन्छ । भगवान विष्णुको आदेशमा माता पार्वतीको आज्ञा अनुसार तीनलोकमा नै स्वस्थानी माताको व्रत बसाल्न स्वर्गलोकमा नारद ऋषि र मर्त्यलोकमा सप्तर्षी एवं पाताललोकमा अश्वस्थामा ऋषिलाई पार्वती माताले पठाउनु भएको थियो ।

किंवदन्ती एवं पुराणको अनुशरण गर्दै अहिलेसम्म पनि स्वस्थानी माताको व्रत बस्ने परम्परा चलिआएको छ । सोही अनुरुप भगवान विष्णुको स्वरुप श्री माधवनारायणको प्रतिमालाई साक्षी राखि यो व्रत प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म निरन्तर रुपमा चल्दै आइरहेको छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि विछोडमा परेका नाग–नागिनीको समेत पुनः मिलन भएको कथामा उल्लेख छ। गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।