मौसम पूर्वानुमान : हिउँदे वर्षा लम्बिने, फेरि अर्को वर्षा भित्रिँदै

हाम्रो सन्देश संवाददाता

काठमाडौँ २४, पुस ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभरीको मौसममा बदली भई हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणालीका कारण मंगलबारबाट परेको झरी अझै केही दिन नरोकिने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बिहीबार पनि देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाली भूभागहरुमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, बिहीबार राति पनि पश्चिमका केही स्थान, मध्य र पूर्वका केही स्थानमा वर्षाको सम्भावना रहेको छ भने मध्य, पूर्वी उच्च पहाडी र हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेपनि महाशाखाले यो तेस्रो हिउँदे वर्षा नसकिँदै नेपालमा चौंथो चरणको वर्षा गराउने नयाँ न्यूनचापीय प्रणाली पश्चिमबाट प्रवेश गर्ने तयारीमा रहेको जनाएको छ ।

नेपालतिर आउँदै गरेको उक्त प्रणालीका कारण फेरि सोमबारदेखि वर्षाको संकेत गरिरहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।