सुन्तलाले मधेस पलायन रोक्यो, विदेश पलायन रोक्दैछ

हाम्रो सन्देश संवाददाता

धनकुटा ।

पहाडबाट बसाइँ सरेर तराई झर्ने वा सहरतिर पस्ने आम समस्या छ । भनिन्छ, पहाड रित्तिँदैछन् र उजाड बन्दैछन् । तर, धनकुटाको चौबीसे गाउँपालिकाअन्तरगत पर्ने मौनाबुधक र बोधे गाउँमा यो कुरा लागू हुँदैन ।

सुन्तला खेतीका लागि चर्चित यस ठाउँका बासिन्दाहरु तराई मधेसतिर बसाइँ झर्ने क्रम रोकिन थालेको छ । अब बैदेशिक रोजगारीमा जाने क्रम पनि विस्तारै घट्ने स्थानीयवासीको विश्वास छ ।

मौनाबुधुकबाट मानिसहरु बसाइँ हिँड्नुको साटो यस गाउँमा बसाइँ आउनेहरु क्रम बढ्न थालेको छ । पाँचथरसँग जोडिएको कुरुले तेनुपाका मानिसहरु यतातिर बसाइँ आउने क्रम बढेको छ । धरानबाट सुन्तलाको बोटमा सेल्फी खिच्न युवायुवतीहरु आउन थालेका छन् । सुन्तलाले आर्थिकसँगै पर्यटकीय सौन्दर्य बढाएको छ ।

मिहेनत गर्‍यो भने पहाडमा सुन फल्न सक्दोरहेछ भन्ने दृष्टान्त बन्न थालेको छ धनकुटाको चौबीसे गाउँ ।

यहाँ पुसको जाडो महिना बेलुकीपख लगभग जिरोदेखि ५ डिग्री सेन्टिग्रेड तापक्रम हुन्छ । चौबीसे गाउँपालिका वडा नम्बर ७, मौनाबुधुक र वडा नम्बर ५ स्थिति बोधे गाउँमा मङ्सिरदेखि माघसम्म लटरम्म सुन्तला झुलिरहेका भेटिन्छन् ।

हिउँदको समयमा कोही सुन्तला गाडीमा लोड गर्न तल्लीन भेटिन्छन् त कोही सुन्तला टिपेर गनिरहेका भेटिन्छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।