टेस्टमा न्युजील्याण्डका क्रिकेटर रोस टेलरको नयाँ किर्तिमान

हाम्रो सन्देश संवाददाता

काठमाडौँ २२, पुस ।

रोस टेलर न्युजिल्याण्डका लागि टेस्टमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । स्टेफेन फ्लेमिङको ७ हजार १ सय ७२ रनको किर्तिमानलाई उछिन्दै टेलरले यो उपलब्धि हात पारेका हुन् । अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको दोस्रो पारीमा उनलाई किर्तिमान बनाउन मात्र २१ रनको अवश्यकता थियो । टेलरले नाथन लियोनको बलमा तीन रन बटुल्दै उक्त कोशेढुङ्गा पार गरे ।

सन् २००७ मा दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्याण्डका लागि डेब्यु गरेका टेलरले न्युजिल्याण्डका लागि ९९ खेलमा ७ हजार १ सय ७४ रन बनाएका छन् । यसक्रममा उनले ४६.२८ को औसतले १९ शतक र ३३ अर्धशतक बनाएका छन् । शतकको मामिलामा उनीभन्दा अघि केन विलियमसन मात्र रहेका छन् । विलियमसनले २१ शतक बनाएका छन् ।

गत फेब्रुअरीमा टेलरले एकदिवसीय खेलमा पनि स्टेफेन फ्लेमिङलाई उछिन्दै न्युजिल्याण्डका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । एकदिवसीय खेलमा उनले २ सय २८ खेलमा ८ हजार ३ सय ७६ रन बनाएका छन् । यसक्रममा उनले २० शतक र ५० अर्धशतक बनाएका छन् । टेलरको किर्तिमानका बावजुद अस्ट्रेलियाले तेस्रो टेस्टमा २ सय ७९ रनको जीत निकाल्दै ३–० ले टेस्ट शृङ्खलामा क्लीन स्वीप गरेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...