नेपालका लागि जे गर्न सक्छु भनेको थिएँ त्यो गर्न सकिन : प्रचण्ड

हाम्रो सन्देश संवाददाता

काठमाडौँ १९, पुस ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका लागि आफुले सोचेको सपना पूरा हुन नसकेको बताएका छन्।
शनिबार राजधानीमा आयोजित अन्नपूर्ण(काठमाडौं समाजको साधारण सभामा प्रचण्डले आफ्नो बाँकी जीवन विकास र समृद्धिमा केन्द्रीत रहने बताएका छन्।

‘हुनत मैले दुई पटक देशको प्रधानमन्त्री सम्हाल्ने मौका प्राप्त गरेँ। तर मैले जे सपना नेपालकै लागि यत्ति चाहिँ मैले गर्न सक्छु र गर्न पर्छ भन्ने ठानेको हो त्यो गर्न सकेको छैन,’ अध्यक्ष प्रचण्डले थपे, ‘कास्की जिल्ला र सिंगो देशका लागि यति गर्न पर्छ र सकिन्छ भन्ने ठानेको हो त्यति मैले गर्न पाएको र सकेको छैन भन्ने मेरो अनुभूति छ। मैले गर्नुपर्ने अलि धेरै छ।’ उनले देशका लागि आफूले अझै धेरै काम गर्न बाँकी रहेको पनि बताए।

‘मैले देशको लागि पनि गर्नुपर्ने अहिलेकोभन्दा अलि धेरै बाँकी छ। मैले देशभरि जाँदा भन्ने गरेको छु मेरो बाँकी जीवन अब विकास निर्माण र समृद्धिको निम्ति नै केन्द्रीत छ,’ उनले भने, ‘आउने दिनमा ती सपनाहरू पूरा गर्न संकल्प लिएकै छु।’

पूराना संरचनामा बानी परेकोले नयाँ संरचना अलि अप्ठेरो लाग्नु स्वभाविक भएको प्रचण्डले बताए। तर देश नयाँ संरचनाबाट पछि हट्न नसक्ने उनको भनाइ छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।