देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात, तीन दिनसम्म मौसम खराब

हाम्रो सन्देश संवाददाता

काठमाडौँ १८, पुस ।

पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “वर्षा लगातार नभई केही समय रोकिँदै फेरी शुरु हुने छ”, मौसमविद् मानन्धरले भन्नुभयो ।

राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

भोलि देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडका केही स्थानमा हलका वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र पहाडका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।