कालिञ्‍चोकमा केबलकारमा ४० प्रतिशत छुट

हाम्रो सन्देश संवाददाता

काठमाडौँ १७, पुस ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर कालिञ्चोक दर्शन लिमिटेड दोलखाले केबलकारमा ४० प्रतिशत छुटको अफर ल्याएको छ । पुस १६ गतेदेखि दोलखा, सिन्धुपाल्चोक र रामेछाप गरी ३ जिल्लाका नागरिकका लागि केवलकारमा ४० प्रतिशत छुटको अफर ल्याएको हो ।

यसअघि पाँचसयको टिकट लिएर केबलकारको सेवा उपलब्ध हुनेमा ४० प्रतिशत छुटपछि तीनसयको टिकट लिएर आवतजावत गर्न सकिने कार्यकारी प्रमुख शिवाकोटीले जनाए । उनको अनुसार सो योजना हरेक हप्ताको सोमबार र बुधवार मात्र लागू हुनेछ । केबलकारबाट यात्रा गर्ने सबै उमेर समूहका यात्रुलाई सो छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

छुट पाउनको लागि दोलखा, सिन्धुपाल्चोक र रामेछाप जिल्लाबासी भएको परिचयपत्र अनिवार्य गरिएको कम्पनीले जनाएको छ । ३८४२ मिटरको उचाइमा अवस्थित कालिञ्चोक भगवतीको दर्शनका लागि भञ्ज्याङबाट कालिञ्चोक मन्दिरसम्म पुग्न केबलकार सञ्चालनमा आएको थियो।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।