गायक प्रकाश सपुतका दाजुभाई नै परदेशी २ मा अनुबन्धित

हाम्रो सन्देश संवाददाता

काठमाडौं।

‘परदेशी’ र ‘गोर्खा पल्टन’ फिल्मका निर्देशक नारायण रायमाझी करीब ४ वर्षपछि फिल्म निर्देशनमा फर्किँदैछन् । उनी अहिले २०७२ सालमा प्रदर्शनमा आएको फिल्म ‘परदेशी’ को सिक्वेल निर्माणको तयारीमा छन् । कथा फाइनल गरेर कलाकार छनोटमा जुटेका उनले केही दिन अगाडि प्रमुख भूमिकामा अहिलेका चर्चित लोक गायक प्रकाश सपुतलाई अनुबन्धित गराएका थिए ।‘बोल माया’, ‘गलबन्दी’ जस्ता चर्चित गीतका गायक सपुतले यो फिल्मबाट अभिनय करिअर सुरु गर्न लागेका हुन् ।

बाल्यकालदेखि नै नेपाली फिल्मको हिरो बन्ने सपना बुनेका उनले थुप्रै म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । हिरो बन्ने सपना बोकेर काठमाडौं आएका सपुतको ‘परदेशी २’ बाट त्यो सपना पूरा हुँदैछ । तर, उनी फिल्म आफ्नो करिअर नभएको बताउँछन् ।फिल्मका लागि निर्देशक रायमाझी अहिले अभिनेत्रीको खोजीमा छन् । फागुनबाट छायांकन सुरु हुने फिल्मलाई आउँदो दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ । यसको अघिल्लो श्रृंखला पनि दशैंमा नै प्रदर्शनमा आएको थियो । ‘परदेशी २’ मा प्रकाशसँगै उनका भाई देवेन्द्र बब्लुलाई पनि प्रमुख भूमिकामा अनुबन्ध गरिएको छ ।

देवेन्द्र गायक, सर्जक तथा थिएटर आर्टिस्ट हुन् ।नेपालमा गायकबाट नायक बनेकाहरु धेरै छन् । रामकृष्ण ढकाल, यम बराल, यशराज,बाबु बोगटी, प्रशान्त तामाङ, सत्यराज आचार्यलगायत धेरैले आफूलाई गायकसँगै नायकको रुपमा पनि चिनाएका छन् । तर, उनीहरुलाई फिल्मभन्दा गायन पेशा नै फाप्यो। अब, लोक गीतको क्षेत्रमा आफ्नो दबदबा कायम गरेका गायक प्रकाशको फिल्म करिअर कस्तो रहला ? हेर्न बाँकी छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।