सशस्त्रमा तीन डीआइजीको चलखेल

हाम्रो सन्देश संवाददाता

काठमाडौँ १५, पुस ।

सशस्त्र प्रहरीभित्र नियमावली संशोधन गरी आफ्नो पदावधी बढाउनका लागि केही नायव महानिरीक्षक (डीआइजी)हरु दौडधूप गरिरहेका छन् । उनीहरु हाल कायम रहेको ५ वर्षे सेवा अवधीलाई बढाएर ६ वर्ष पुर्याउनका लागि दौडधूप गरेका हुन् । अवकाश मिति नजिकिँदै गर्दा उनीहरुले नियमावली संशोधन गरेर ६ वर्षे अवधी बनाउन लागिपरेका हुन् ।

यसरी नियमावली संशोधन गरेर आफ्नो अवधी थप्नका लागि डीआइजीहरु सुरज श्रेष्ठ, बाबुराम पाण्डे र अरबिन्द्र धितालले गृहमन्त्रालयका उच्च अधिकारीका साथै विभिन्न शक्तिकेन्द्रमा धाइरहेका छन् । डीआइजीको पाँच वर्षे पदावधिका कारण अब केहीदिनभित्रै उनीहरुले अनिवार्य अवकाश पाउँदैछन् ।

ऐन मन्त्रीपरिषद हुँदै संसदले पारित गर्नुपर्ने हुन्छ भने नियमावली गृहमन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदले पारित गर्ने गर्छ । त्यसैले केही डीआइजीहरु अहिले पदावधी बढाउन प्रभावशाली मन्त्रीहरुलाई दवाव दिन थालेका छन् ।

उता यसले संगठनलाई असर पार्ने भन्दै गृह मन्त्रालयका अधिकारीहरुले प्रस्ताव अघि बढाउन मानेका छैनन् । उनीहरुको निहीत स्वार्थको लागि नियमावली संशोधन गर्दा गलत नजिर बस्ने र तल्लो तहका प्रहरीको बढुवामा असर पर्ने भन्दै गृहले यो प्रस्ताव अगाडी बढाउन नचाहेको एक सहसचिवले बताए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।