खानेपानी ऐनले अप्रष्ट कुरा प्रष्ट पार्ने छ – मन्त्री मगर

हाम्रो सन्देश संवाददाता

काठमाडौँ १४, पुस ।

खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले खानेपानीका विषयमा अस्प्रष्ट धेरै कुरा खानेपानी तथा सरसफाइ ऐनले प्रस्ट पार्ने बताएकी छिन ।

खानेपानी तथा सरसफाइ महासङ्घले आज यहाँ आयोजना गरेको राष्ट्रिय गोष्ठीमा उनले ऐन अहिले विधेयकका रुपमा प्रतिनिधिसभाको समितिमा रहेको र सो पारित भएपछि खानेपानीका क्षेत्रमा रहेका समस्याको अन्त्य हुने बताएकि हुन् ।

खानेपानी र सरसफाइका क्षेत्रमा अहिलेसम्म कुनै पनि कानून नभएकाले यो नै यस क्षेत्रको पहिलो कानून बन्ने उनको दाबी छ ।

समितिमा व्यापक रुपमा छलफल अघि बढेको बताउँदै उनले भनिन , ‘खानेपानी धेरैको जीवनसँग जोडिएको विषय भएकाले यसमा १४५ वटा संशोधन परेको हुनसक्छ ।’

मन्त्री मगरले सरकार तीनै तहमा सरसफाइसम्बन्धी योजना बनाउन लागेको बताइन । अहिले प्रदेश ५ ले योजना बनाइसकेकाले अरु प्रदेशमा पनि बनाउँदै जाने र स्थानीय तहसम्म यसलाई लागू गराउने मन्त्री मगरको भनाइ छ ।

खानेपानीको पहुँच नपुगेका परिवार र समुदायका विषयमा आफूले जानकारी मागिरहेको उनको भनाइ छ । उनले भनिन , ‘देशभर झण्डै ४३ हजार उपभोक्ता समिति हुँदा पनि कसरी सबैको पहुँचमा खानेपानी पुगेन भनेर बुझिरहेको छु ।’

उच्चस्तरीय प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहालले धेरै देशमा पानीसम्बन्धी विवाद प्रदेश प्रदेशहरुका बीचमा र देशहरुबीच रहेको बताए । नेपाल सरकारले स्रोतमा सरकारको नियन्त्रण गरेर त्यसको संरक्षणमा प्रदेश र स्थानीय सरकारलाई संलग्न गराउनुपर्नेमा उनको सुझाव छ ।

संविधानको प्रस्तावनामा नै आधारभूत कुराहरुमा जनताको पहुँच स्थापित गर्ने विषय उल्लेख भएकाले सरकारले कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ । उनले भने , ‘सुकुम्बासी बस्तीमा कसरी खानेपानी पु¥याउने भन्ने मन्त्रालयले योजना बनाउनुपर्छ ।’

समाजशास्त्री कमल अधिकारीले खानेपानीको पहुँचमा नपुगेका जनता को हुन भनी सरकारले सुक्ष्म रुपमा खोज्नुपर्ने बताए । कार्यक्रममा सहभागी देशभरका खानेपानी उपभोक्ता संस्थाका प्रतिनिधिहरुले सरकारले खानेपानीमा प्रयोग हुने विद्युत् महसुलमा सहुलियत दिनुपर्ने र कुनै पनि योजना निर्माण गर्दा खानेपानीलाई असर पु¥याउन नहुने बताएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।