डान्स बारबाट युवतीसहित मेयर पक्राउ

हाम्रो सन्देश संवाददाता

महेन्द्रनगर, १४ पुस ।

महेन्द्रनगरस्थित एक डान्स बारबाट दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख (मेयर) अमरसिंह धामी पक्राउ परेका छन् । नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित धामी महेन्द्रनगरस्थित ब्लू डान्स बारबाट पक्राउ परेका हुन् ।

डान्स बारमा मदिरा पिएर हो–हल्ला गरेपछि मेयर धामीसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले मेयर धामीलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय महेन्द्रनगर स्रोतका अनुसार डान्स बारबाट मेयर धामीसहित केही युवतीलाई समेत नियन्त्रणमा लिइएको हो ।

डान्स बारमा काम गर्ने केही युवतीले आफूमाथि दुव्र्यवहार भएको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि प्रहरीको टोली डान्स बार पुगेको थियो । वडा प्रहरी कार्यालयका एक प्रहरी कर्मचारीका अनुसार प्रहरीको टोली डान्स बार पुग्दा दुवै पक्षबीच विवाद चलिरहेको थियो ।

प्रहरीको टोलीले डान्स बारमा विवाद गर्ने व्यक्तिलाई पक्राउ गरेर केहीलाई जिल्ला प्रहरी कार्यालय र केहीलाई वडा प्रहरी कार्यालय पु¥याएको थियो । प्रहरीले नियन्त्रणमा लिएपछि धामीले आफू जनप्रतिनिधि भएको भन्दै आफूलाई तत्काल रिहा गर्न प्रहरी कर्मचारीलाई नै चेतावनी दिएका थिए ।

आइतबार राति पक्राउ परेका धामी सोमबार बिहान नै रिहा भइसकेका जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले डान्स बारमा हो–हल्ला गर्ने व्यक्तिलाई नियन्त्रणमा लिँदा मेयर धामी पनि केही समयका लागि जिप्रका आएको बताए ।

‘डान्स बारमा दुई समूहबीच विवाद भएको थियो । एउटा समूहले मेयर धामीलाई पनि बोलाएको रहेछ । विवाद मिलाउन भनेर उहाँ डान्स बार पुगेको भन्ने कुरा आएको छ,’ डिएसपी चन्दले खबरहबसँग भने ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर धामीको कञ्चनपुरको भीमदत्त नगरपालिकामा समेत घर छ । पक्राउ परेको विषयमा जानकारी लिन खोज्दा मेयर धामीसँग भने सम्पर्क हुन सकेन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।