खण्डग्रास सूर्यग्रहण हेरे कुन राशिलाई कस्तो प्रभाव ? जानीराखौ

हाम्रो सन्देश संवाददाता

काठमाडौं :

आज वि.सं.२०७६ पौष १० गते नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरु भई ११ बजेर ३१ मिनेटमा समाप्त हुने वलय खण्डग्रास सूर्यग्रहण (annular solar eclipse) एक दुर्लभ घटना हो, जुन समयमा पृथ्वी, चन्द्रमा र सूर्य एउटै सरलरेखामा पर्दछन् । आजको खण्डग्रास सूर्यग्रहणमा अर्को महत्वपूर्ण घटना पनि घट्दैछ, त्यो हो पृथ्वीसहित छ वटा ग्रहहरु सूर्यसँग एउटै सरलरेखामा लाइनबद्ध भई रहनेछन् ।

राशिअनुसार ग्रहण हेरे शुभ फल मिल्ने शास्त्रमा उल्लेख छ। यस पटकको सूर्य ग्रहणमा कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरूका लागि शुभ तथा मेष, वृष, मिथुन, सिंह, वृश्चिक,कन्या, धन र मकर राशि हुनेहरूलाई अशुभ बताइएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति पाएका विभिन्न पात्रोहरूमा मेष राशिलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीकष्ट, कर्कटलाई सुखप्राप्ति, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्ति हुने उल्लेख छ।

हेर्न जुरेका राशिवालाले पनि प्रत्यक्ष आँखाले भने ग्रहण हेर्नु हुँदैन। काँसको थाल वा कुनै पनि भाँडामा पानी राखेर वा दुर्बिनलगायत सुरक्षित यन्त्रका माध्यमबाट हेर्न सकिने ज्यो. पण्डित रिजाल बताउँछन्। यो सूर्यग्रहणमा काठमाडौंमा चन्द्रमाले सूर्यको ३९ प्रतिशतसम्म भाग छेक्ने बताइएको छ।

चन्द्रमा पृथ्वी र सूर्यको बीचबाट भ्रमण गर्ने तथा पृथ्वीबाट हेर्दा सूर्य आंशिक रूपमा चन्द्रमाद्वारा छेकिने ज्योतिषीहरू बताउँछन्। सूर्यग्रहण मूल नक्षत्रमा लाग्ने भएकाले आगामी ६ महिनासम्म मूल नक्षत्रमा कुनै पनि शुभकार्य गर्न नहुने र विशेषगरी मूल नक्षत्रमा जन्म भएका, धनु राशि र धनु लग्न भएका व्यक्तिलाई प्रतिकूल हुने ज्योतिषीहरूको भनाइ छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।