मिस वर्ल्ड मलाई खुला मैदानजस्तो लाग्यो: अनुष्का श्रेष्ठ

हाम्रो सन्देश संवाददाता

काठमाडौं –

मिस वर्ल्ड २०१९ मा सहभागिता जनाएर सोमबार काठमाडौं फर्किएकी मिस नेपाल अनुष्का श्रेष्ठले दर्शकले दिनुभएको साथ र मायाले नै मिस वर्ल्डको ग्राण्ड फिनालेमा राम्रो प्रस्तुति दिन सम्भव भएको बताएकी छिन् ।

अनुष्काले मिस वर्ल्डमा ग्राण्ड फिनालेबाहेक अरु दिन कसरी निर्णायकले मूल्याङ्कन गर्थे भन्ने थाहा नपाएको बताइन् । उनले मिस वर्ल्ड एक खुला मैदानजस्तो लागेको प्रतिक्रिया दिइन् ।
सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अनुष्काले भनिन्, ‘मिस वर्ल्ड एउटा खुला मैदानजस्तो लाग्यो, त्यो स्टेजमा मेरो व्यक्तिगत करिअरदेखि देश चिनाउनेसम्म मौका थियो ।’

मिस वर्ल्ड फाइनल प्रतियोगितामा जानुअघि आफूहरुलाई कसरी निर्णायकले मूल्यांकन गरिरहेका हुन्थे भन्ने थाहै नहुने अनुष्काले सुनाइन् ।

‘मलाई लण्डन चिसो हुन्छ भन्ने थाहा थियो, तर भोग्दा गाह्रो भयो, मिस वर्ल्डको स्टेज पनि मेरा लागि त्यस्तै थियो,’ अनुष्काले अगाडि थपिन्, ‘सयभन्दा बढी देशका उत्कृष्ट सुन्दरीहरुमध्ये आफू कताकता हराएको झैँ लाग्थ्यो, न म अरुभन्दा अग्ली थिएँ, न अरुभन्दा फरक छु भन्ने नै लाग्थ्यो ।

आफ्नो देशलाई कसरी चिनाउने भन्ने टिमको योजना अनुसार नै ‘पर्यटन वर्ष २०२०’ लाई पनि प्रचार गरेको अनुष्काले बताइन् । ‘त्यहाँ मैले कसरी नेपाललाई चिनाउन सक्छु भनेर आफैलाई प्रश्न गरेँ, सबैको साथ र सहयोग पनि पाएँ,’ अनुष्काले भनिन् ।

मिस वर्ल्ड खुला मैदान भएकाले त्यहाँ गएर व्यक्तिगत प्रस्तुति दिन पनि सकिने तर आफूले नेपाललाई नै चिनाउने प्रयास गरेको अनुष्काले बताइन् । उनले ‘ब्यूटी विथ अ पर्पस’ को उपाधि जित्दा खुशी लागेको बताइन् । ‘सात महिनाको मेहनतलाई दश मिनेटमा देखाउनु चुनौतीपूर्ण थियो, यसमा हामी सफल भयौँ,’ उनले भनिन् ।

मिस वर्ल्डमा नेपालको ब्याच नलगाई पनि नेपाललाई चिनाउन सफल भएको अनुष्काले बताइन् । जति जति फिनाले नजिकिँदै जान्थ्यो, उति जिम्मेवारी पनि बढ्दै गएको अनुष्काले सुनाइन् ।

‘प्रस्तुति राम्रो होस् भनेर हरेक दिन यो अन्तिम दिन हो भन्ने लागेको थियो, मैले सधै ढुक्क देखाउन चाहेँ,’ उनले भनिन्, ‘तनाव लिँदा त्यसको असर अनुहारमा देखिने रहेछ, आफ्नो प्रस्तुतिमा डर र तनाव देखियो भने त आफू कन्फिडेन्ट देखिन्न, म कन्फिडेन्ट नुहुनु भनेको नेपाल कन्फिडेन्ट नुहुनु हो ।’
उनले मिस वर्ल्ड एक महोत्सवजस्तो लागेको बताइन् । साथै उनले नेपाली एकजुट भएकोमा खुशी व्यक्त गरिन् । उनले मिस वर्ल्डमा उत्कृष्ट ५ सम्म पुग्न नसके पनि उत्कृष्ट १२ सम्म पुगेकोमा खुशी व्यक्त गरिन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।