अवकाश मिति नजिकिदै गर्दा डीआइजीहरुको असुली धन्दा !

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ९, पुस ।

अवकाश पाउने समय नजिकिएसँगै प्रदेशमा खटिएका प्रहरी नायव महानिरीक्षक (डीआइजी)हरु अतिरिक्त कमाइमा लागेको खुलासा भएको छ । उनीहरुले घुमुवा खटाएर असुली गरिरहेको रिपोर्ट प्रहरी प्रधानकार्यालयमा पुगेपछि डीआइजीहरुको कर्तुत बाहिर आएको हो । यसरी असुलीमा लागेका प्रहरीहरुमा प्रदेश ५ का डीआइजी सुरेशविक्रम शाह , गण्डकी प्रदेशका विनोद घिमिरे र कर्णलीका पूर्णचन्द्र जोशी रहेका छन् ।

उनीहरुको विषयमा प्रहरी प्रधान कार्यालयदेखि गृहमन्त्रालयमा उजुरी परेपछि सुक्ष्म अनुसन्धान थालिएको गृहश्रोतले बताएको छ । सात प्रदेशका डीआइजीमध्ये चार डीआइजी डेढ महिनापछि अवकाश पाउँदैछन् ।

गण्डकीका डीआइजी घिमिरेले आफ्नो रेट नै तोकेर मातहतको युनिटसँग पैसा मागिरहेका छन् । यससम्बन्धी ३ महिनाअघि नै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको र छानविन शाखाले सामान्य छानविन गरेर तामेलीमा राखेको बताइन्छ । उता प्रदेश नम्बर पाँचका डीआइजी शाहले तस्करीको लाइन खोल्न एसपीहरुलाई दवाव दिइरहेका छन् ।

अवकाश हुन लागेका अधिकारीलाई इन्चार्जमा खटाइने चलन नभएपनि ति डीआइजीहरु राजनीतिक शक्तिको आडमा प्रदेश इन्चार्ज भएको बताइन्छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।