नविल बैंकले साना व्यवसाय गर्नेलाई ३५ घण्टामै ७५ लाखसम्म ऋण दिने

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ७, पुस ।

साना तथा मझौला व्यवसाय संचालन गर्नेलाई लक्षित गर्दै नविल बैंकले सजिलो एसएमई कर्जा सेवा संचालनमा ल्याएको छ। आवश्यक प्रक्रिया पुर्याएको ३५ घण्टाभित्रै स्वीकृत हुनेगरी एसएमई लोन प्रवाह हुने बैंकले जनाएको छ। यस्तो कर्जाको वार्षिक व्याजदर अधिकतम १०. ५ प्रतिशत रहनेछ।

बैंकले ‘सक्षम’सँगको सहकार्यमा एसएमई कर्जा सुविधा ल्याएको हो। नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले आर्थिक विकाससँगै सर्वसाधारणको दैनिकी सहज बनाउन साना उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कर्जा सेवा ल्याएको बताए।

नियामकको कुनै मापदण्ड पुर्याउनका लागि नभई अर्थतन्त्रलाई टेवा पुर्याउन र उद्यमशिलताको बानी विकास गर्न यस्तो कर्जा ल्याइएको शाहले बताए। बैंकले एसएमई लोनमा पनि एक नम्वरको पोजिसन कायम राख्ने लक्ष्य लिएको उनले बताए। १५ लाखदेखि ७५ लाख रुपैयाँसम्म यस्तो कर्जा प्रवाह हुनेछ। यस्तो कर्जाका लागि धितो भने राख्नुपर्नेछ।

साढे १० प्रतिशत व्याज लिने भनिए पनि धितोको मूल्यअनुसार यो दर अझै कम हुन सक्ने बैंकले जनाएको छ। व्यवसाय तथा धितो हेरेर कर्मचारीहरुले बैंकको फर्म्याटमा स्कोर जेनेरेट गर्नेछन्। उत्कृष्ट स्कोर हुनेलाई व्याजदर कम पर्ने एसएमई डिपार्टका प्रमुख सुवोध लोहनीले जानकारी दिए। नविलका अलवा अन्य वाणिज्य बैंकहरुले पनि एसएमई लोन प्रदान गर्दै आइरहेका छन्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।