‘महिनावारीमा भाइटीका लगाएँ, छोइछाइ चलन आफैं तोडेँ’ : अभिनेत्री स्वस्तिमा खड्का

हाम्रो सन्देश संवाददाता

अभिनेत्री स्वस्तिमा खड्का पहिलो महिनावारी बार्न सात दिन आफ्नो मामाघर गएर बसिन्। त्यो बेला उनी पन्ध्र वर्षकी थिइन्। मामाघरमा आफ्नै उमेरकी बहिनीसँग खेल्न पाउने कुराले निकै खुसी थिइन्। वास्तविकता भने उनको सोचभन्दा तितो थियो। उनलाई कोठामा कसैलाई छुन नपाउने सर्तमा एक्लै थुनेर राखियो।

घरपरिवारबाट महिनावारीबारे ज्ञान नपाए पनि स्वस्तिमा साथीहरूका अनुभवबाट सचेत थिइन्। उनलाई महिनावारी प्रक्रिया, सरसफाइ र स्वास्थ्यमा ध्यान पुर्‍याउनु पर्ने कुराहरू थाहा थियो। अज्ञात त समाजका अन्धविश्वासबारे थिइन्।

‘महिनावारीको भएको महशुस हुँदा आमालाई भन्न डराएकी थिएँ,’ स्वस्तिमा भन्छिन्, ‘घरमा कहिल्यै यी विषयमा कुरा भएन। त्यही कारणले पहिलोपटक महिनावारीमा सामना गर्नुपर्ने रोकतोकले अत्ताएको थियो।’ बार्न थालेको केही दिनमै उनलाई आफ्नो घरको याद आयो। केही समय बिराएर आमा भेट्न आउँदा भक्कानो छोडेर रून्थिन्। बुबा र भाइलाई देख्न नपाउँदाको पीडा बेग्लै।

छोइछाइ गर्न नहुने चलन स्वस्तिमाका निम्ति यातना बनेको थियो। यसको प्रभावले उनका पछिका दिन फेरिए। पहिलोपटक बार्नु परेको अनुभवका डरले उनले घरमा महिनावारी भएको कुरा भन्नै छाडिन्। बार्ने कुरामा धेरै कडाइ नभएकाले पनि कसैले उनको महिनावारी भएको-नभएकोबारे गम्भीर भएनन्। आमा धर्मकर्ममा सचेत भएकाले स्वस्तिमा महिनावारीका कुरा नगरी मन्दिर जान्थिन्।

‘एकपटकको कुरा, भाइटीका नजिकिँदै थियो। त्योसँगै मेरो महिनावारी हुने समय आएको थियो,’ उनले सेतोपाटीसँग अनुभव साटिन्, ‘म भाइटीकाकै दिन महिनावारी भएँ। टीका लगाउन नपाउने चिन्ताले मैले कसैलाई थाहै नदिई सबै काम सकियो।’

महिनावारीमा दाजुभाइ वा बुवालाई छोएमा उनीहरू बिरामी हुने कुरा अन्धविश्वास मात्र रहेको उनले त्यही बेला प्रमाणित गरिन्। बिस्तारै महिनावारी सम्बन्धित अन्य कुचलनविरूद्ध उनले यसरी नै पाइला चालिन्।

यो प्रयासमा स्कुलले झनै सहज बनाएको स्वस्तिमाको भनाइ छ। महिनावारीका विषयमा भएको विस्तृत पढाइ र शैक्षिक कार्यक्रमहरूले उनको आत्मबल बलियो भयो। अन्य विद्यार्थीझैं उनले स्कुलमा प्रजनन स्वास्थ्य हिच्किचाएर पढ्नुपरेन। यो कुरामा उनी आफूलाई भाग्यमानी ठान्छिन्।

शिक्षकशिक्षिका र शैक्षिक प्रणालीले महिनावारी शिक्षालाई प्राथमिकता दिए पनि विद्यार्थी आफैंमा डर र लाज जीवितै रहेको स्वस्तिमाले महशुस गरिन्। साथीहरूले हरेक महिना महिनावारी बार्ने कथा सुनाउँदा उनको मनमा धेरै प्रश्न उठ्थे।

‘हाम्रो पुस्ता सही र गलत छुट्याउन सक्षम छ,’ भन्छिन्, ‘तर पनि पुराना चलनचल्तीको प्रभाव केही हदसम्म कायम देखिन्छ। धर्मका कुरामा उनीहरूको मनमा अझै पनि डर छ र महिनावारी बार्ने-नबार्नेमा दुविधा छ।’ आफूले पाएको ज्ञानमा सधैं दृढ रहने भएकाले पनि बार्ने चलन कहिल्यै नरुचाएको बताउँछिन्। झुटो बोलेर होस् वा लुकाएर, उनले महिनावारीलाई आफ्नो काममा बाधा बन्न दिइनन्।

उनी आफूसँगै आफ्नो परिवार र साथीहरूलाई यस विषयमा सचेत बनाउने प्रयासमा लागिरहेकी थिइन्। सानैदेखि नजिक रहेकालाई बुझाउन त धेरै समस्या परेन तर बिहेपछि अलि मुश्किल भइहाल्यो। नयाँ घरमा उनले महिनावारीबारे पुरानै मानसिकता भेटिन्।

बिहेको भोलिपल्ट महिनावारी भएका कारण श्रीमानसँग सुत्न रोक लगाइएको घटना स्वस्तिमालाई अझै याद छ। नौलो घर र नयाँ परिवारबीच एक्लै प्रतिवाद गर्न उनले सकिनन्। उनलाई कसैको समर्थनको जरूरी थियो र ती व्यक्ति उनकै श्रीमान बने। भन्छिन्, ‘घरमा सबैले बार्ने कुरा गर्दा निश्चलले यसको विरूद्धमा बोल्नुभयो। त्यस दिनदेखि बार्ने चलन मान्नुपरेको छैन।’ सेतो पाटीबाट

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।