दैलेखमा गाँउपालिका अध्यक्ष विप्लवका कार्यकर्ताबाट अपहरण

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ६, पुस ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उनकी पत्नी इलालाई अपहरण गरेको छ । गएराति करिब १२ बजेतिर उनीहरुलाई विप्लवका कार्यकर्ताले अपहरण गरेका हुन् । ठाटीकाँध गाउँपालिका–२ स्थित श्रीपाटामा रहेको आफ्नै घरबाट उनीहरुलाई अपहरण गरेको उनका भाई हस्त शाहीले बताए ।

अपहरणकारीले आफुलाई पनि दाजु भाउजुसँगै लगेको तर राती १ बजे आधा बाटोमा लगेर छोडिदिएको हस्तले बताएका छन् । धीरबहादुर शाही ठाटीकाँध गाउँपालिका अध्यक्ष तथा सत्तासिन पार्टी नेकपाका जिल्ला कमिटी सदस्य थिए । उनकी पत्नी नेपाल राष्ट्रिय शिक्षक संघकी केन्द्रीय उपाध्यक्ष थिइन् । नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले उनीहरुलाई विप्लवका कार्यकर्ताले अपहरण गरेको पुष्टि गरेका छन् ।

उनले विप्लव कार्यकर्ताले आफ्नै घरबाट मध्य राती अपहरण गरेर उनीहरुलाई बिजारेको जंगल हुँदै कालीकोटको भर्तातिर लिएर गएको बताएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले टेलिफोनमा भने,–अपहरणको घटना जानकारीमा आएपनि कसले अपहरण गरेको भनी पुष्टि भईसकेको छैन् । अहिले बिहान सुरक्षा समितिको बैठक बसी अपहरितको खोजी तीब्र पारेको उनले बताए ।

केन्द्रीय सदस्य रिजालले भने घटनापछि दैलेखमा डीएसपी हरि ओली, सुर्खेतमा डीआइजी पूर्णचन्द्र जोशी र काठमाडौंमा गृहसचिव प्रेम राईसँग समन्वय भइरहेको वताए । ‘लेकमा हिउँ परेको छ, दैलेखको तिलेपाटा र कालीकोटतिरबाट पनि प्रहरी परिचालन भइसकेको छ,’ नेकपा विदेश विभागका उपप्रमुख समेत रहेका रिजालले भने,–‘विप्लवका कार्यकर्तालाई राजनीतिक व्यवहार गर्न र अपहरित शाही दम्पत्तिलाई अविलम्ब रिहा गर्न आग्रह गर्दछु ।’

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।