तीर्थयात्री बोकेकाे बस दुर्घटना, ठूलाे हताहतीकाे आशंका

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ मङ्सिर ।

सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको पाँच किलोमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४४६८ नम्बरको रिजर्भ बस आइतबार बिहान सडकबाट एक सय मिटर तल खसेर दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा १८ जना घाइते भएका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

घाइते मध्ये ४ जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको हाम्रा संवाददाता सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । बसमा ३२ जना सवार रहेको प्रहरीकाे भनाइ छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।