विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम बढ्दो, चोटपटक नै नलागी ४३ वटा मरे

हाम्रो सन्देश संवाददाता

भरतपुर, २९ मङ्सिर।

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणबाट विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम रोकिएको छैन । चालू आर्थिक वर्षको साढे चार महिनामा पाँचवटा गैँडा प्राकृतिक कारणले मरेका छन् ।
“गैँडा मर्ने क्रम रोकिएको छैन”, चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता गोपाल घिमिरेले भन्नुभयो । पछिल्लो समय यही मङ्सिर १८ गते बुधबार भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा गैँडा मृत अवस्थामा भेटियो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सिसुवारमा भेटिएको उक्त गैँडाको खाग र खुर सुरक्षित थियो र शरीरमा कुनै चोटपटक पनि लागेको थिएन । “मरेको गैँडा त्यस्तै तीस वर्ष उमेरको हो”, प्रवक्ता घिमिरेले भन्नुभयो, “मानव बस्तीमा गएर फापर, गहुँलगायतका खेती खाएको रहेछ । त्यसलाई पचाउन नसकी फुड पोइजन भएर मरेको निष्कर्षमा हामी पुग्यौँ । ”
निकुञ्जमा यसअघि विष प्रयोगबाट गैँडा मरेको घटना बाहिर आए पनि फुड पोइजनका कारण कुनै पनि गैँडा मरेको तथ्य भेटिँदैन । त्यसो त अघिल्लो आर्थिक वर्ष २०७५-०७६ मा ४३ वटा गैँडा चितवन निकुञ्जमा कालगतिले नै मरेको निकुञ्जसँग तथ्याङ्क छ । यो सङ्ख्या २०७४÷०७५ मा २६, २०७३÷०७४ मा २५ वटा थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक रामचन्द्र आचार्यको नेतृत्व टोलीले गत वर्ष निकुञ्जमा गैँडा मर्नुका कारण अध्ययन गरेको भए पनि यसको यकिन कारण बाहिर सार्वजनिक गरेको पाइँदैन तर केही विज्ञले भने बासस्थानकै कारण समस्या भएको आँैल्याउँदै आएका छन् ।
“चितवनमा बढी गैँडा किन मरिरहेका छन् भन्नेमा हामी सचेत छौँ । अहिले पनि अफ्रिकादेखिका वन्यजन्तु विशेषज्ञ बोलाएर स्थलगत अध्ययन भइरहेको छ”, उपमहानिर्देशक आचार्यले गोरखापत्रलाई बताउनुभयो ।

उहाँले विगतमा निकुञ्ज वरपरको पानीको परीक्षण, विभिन्न रोगको परीक्षण गरिँदा सामान्य रिपोर्ट आएको जानकारी दिँदै आफ्नो नेतृत्वको टोलीको अध्ययनपछि निकुञ्जमा घाँसे मैदान व्यवस्थापनको काम भइरहेको जानकारी दिनुभयो । “विदेशी विशेषज्ञ टोलीको अध्ययन प्रतिवेदन पनि आउँला तर हामीले चितवन राष्ट्रिय
निकुञ्जमा गैँडा एकपछि अर्को मर्नुका कारण खोज्दै बासस्थान सुधारका योजना अघि सारिरहेका छौँ”, उहाँले भन्नुभयो ।
यो वर्ष निकुञ्जभित्र थप सात सय हेक्टर क्षेत्रफलमा घाँसे मैदान बनाउन लागिएको उहाँले जानकारी दिनुभयो । गत वर्ष निकुञ्जमा दुई सय हेक्टर घाँसे मैदान निर्माण गरिएको थियो । ९२८ वर्ग किलोमिटर क्षेत्रफल रहेको निकुञ्जमा पहिला २० प्रतिशत घाँसे मैदान रहेकोमा घटेर १० प्रतिशतभन्दा थोरै भएको छ । निकुञ्जका पोखरी सुक्दै गएको छ । कतिपय ठाउँमा कृतिम पोखरी बनाइए पनि प्रभावकारी हुन सकेको छैन ।
चितवन निकुञ्जका पूर्ववार्डेन वेदप्रसाद ढकाल चुरे क्षेत्रमा जथाभावी डोजर चलाउँदा बाढीले माटो बगाएर निकुञ्ज पुर्दा त्यसको प्रत्यक्ष असर गैँडामा परिरहेको बताउनुहुन्छ । “९िनकुञ्जभित्रका घाँसे मैदान वर्षात्को बाढीले चुरेको माटो ल्याएर पुरिँदा नासिँदै गएको हो, यसको प्रत्यक्ष असर गैँडामा पर्नु स्वाभाविक हो”, उहाँले भन्नुभयो । गैँडाको सङ्ख्या बढेसँगै आहाराको अभावले गैँडा–गैँडा जुध्नु, बाढीले बगाउनु, बूढो हुनु, मानव बस्तीमा आएका गँैडा मानवीय धरापमा परेर मर्नु आदि गैँडा मर्नुका कारण भएको विज्ञहरू बताउँछन् । यो समाचार गोरखापत्रबाट साभार गरिएको हो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।