ओलीले अटेर गरे १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घर्ने प्रचण्डको चेतावनी

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३० माघ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अटेर गरिरहे अझै सिंहदरबार र बालुवाटार घेर्ने ठूला आन्दोलन हुने चेतावनी दिएका छन् । बुधबार ओलीको प्रतिगामी कदमको विरोधमा आयोजित बृहत सभालाई सम्बोधन गर्दै प्रचण्डले जरुरी पर्‍यो भने बालुवाटार र सिंहदरबार घेर्ने ठूलो आमसभा हुने बताएका हुन् ।

‘अझै पनि लाखौं जनताको उपस्थिति र यो विरोध, आक्रोश, आवेक, पीडालाई बुझ्नुभएन भने म तपाईंलाई चुनौती दिन्छु सिंहदरबार घेर्न र बालुवाटार घेर्न आउनेछ,’ ओलीलाई दाहालले भने, ‘प्रतिगमन, निरंकुशता लोकतन्त्रको हत्या गर्ने तपाईंको चरित्र जनताले बुझिसकेको छ । त्यसकारण जरुरी पर्‍यो भने बालुवाटार र सिंहदरबार घेर्ने ठूलो आमसभा हुनेछ ।’ प्रचण्डले ओलीलाई चेतावनी दिँदै भने, ‘म केपीलाई भन्छु–अर्को पटक १० लाख जनता लिएर सिंहदरवार र बालुवाटार घेर्नुनपरोस् ।’

केपी ओलीजीले जुलुस, आमसभा कस्तो हुन्छ देखाउँछौं भन्दै दिएको चुनौती स्मरण गराउँदै दाहालले भने- ‘केपीजी देख्नु भयो सभा कस्तो हुन्छ ? देख्नु भयो विरोध, प्रदर्शन कस्तो हुन्छ ?’ दाहालले आफू स्टेजमा रहँदा आजको सभामा ५ लाख सहभागी भएको एसएमएस आएको उल्लेख गर्दै त्यो आफ्नो अनुमान नभएको प्रस्ट्याए ।