ओली सरकारको काल आएकै हो : बाबुराम भट्टराई

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३० माघ ।

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले रामकुमारी झाँक्रीको पक्राऊप्रति आपत्ती जनाउँदै सरकारलाई कडा चेतावनी दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत् वर्तमान सरकार समाप्त हुन लागेको टिप्पणी गरेका छन् ।

झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिको समर्थन गर्दै पूर्व प्रधानमन्त्री भट्टराइले लेखेका छन्,‘संविधानको पालना र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो ?’

ओली सरकारले विचार अभिव्यक्ति दिएकै आधारमा युवा नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेर नागरिक स्वतन्त्रताको विरुद्ध कदम चालिएको तर्क गरेका छन् ।

आज शंखमुलस्थित घरबाट झाँक्रीलाई राज्यविरुद्धको कसूरको दफा ५८ को अभियोग लगाएर पक्राऊ पूर्जी जारी गरी प्रहरीले नियन्त्रणमा लिएको थियो ।

भट्टराईले लेखेका छन्ः ओली सरकारले राष्ट्रपतिवारे विचार अभिब्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झॅक्रीलाई गिरफ्तार गरेछ!नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता”दिन्छ!”संविधानको पालन र संरक्षण”गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने?यो सरकारको काल आएकै हो ?