निर्वाचित वडाध्यक्षमाथि नै बोक्सो भन्दै कुटपिट

हाम्रो सन्देश संवाददाता

चितवन,२३ मंसिर ।

चितवनको इच्छाकामना गाउँपालिकाको २ नम्बर वडाका अध्यक्ष पञ्चबहादुर प्रजामाथि स्थानीयहरुको एक समूहले बोक्सा भन्दै कुटपिट गरेको छ ।

स्थानीय युवाहरुको समूहले वडाध्यक्ष प्रजामाथि कुटपिट गर्दै जुत्ताको माला लगाइ मानव मलमुत्र खुवाउने प्रयास समेत गरेको छ ।

शनिबार साँझ उत्तरकुमार गुरुङ, बिर्खबहादुर गुरुङ लगायतका व्यक्तिको समूहले वडाध्यक्ष प्रजामाथि कुटपिट गरी बोक्सा भएको भन्दै जुत्ताको माला लगाइ मानव मलमुत्र खुवाउन खोजेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको भन्दै उत्तरकुमार गुरुङ र बिर्खबहादुर गुरुङलाई पक्राउ गरेको छ ।

नेपाली कांग्रेसका स्थानीय कार्याकर्ताले वडा कार्यालयमा तालावन्दी लगाएपछि उत्पन्न विवादका बीच वडाध्यक्ष प्रजालाई कुटपिट गरी मानव मलमुत्र खुवाउने प्रयास भएको हो ।

कांग्रेस कार्यकर्ताले वडा कार्यालयमा तालाबन्दी गरेपछि वडा कार्यालयको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।