कांग्रेस केन्द्रीय समितिको अवधि एक वर्ष थप्न देउवाले पौडेल पक्षसँग मागे नामावली

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२३ मंसिर ।


नियमित समयमा महाधिवेश गर्न नसकिने र विधान अनुसार कार्यकाल एक वर्ष थप गर्ने प्रावधान अनुसार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको महाधिवेशन एक वर्ष पछाडि धकलिने भएको छ । आसन्न १३ औं महाधिवेश आउन करिब ३ महिना बाँकी रहँदा आगामी २६ गते बस्न गइरहेको कांग्रेस केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको अवधि एक वर्ष थप गर्ने प्रस्ताव लैजाने तयारी गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले सहमतिमै कार्यकाल एक वर्ष थप्न पार्टी उपसभापति विमलेन्द्र निधिलाई संस्थापन इतर पक्षलाई सहमती र सम्वादका लागि खटाएका छन् । पार्टी उपसभापति निधिले संस्थापन इतरका नेता रामचन्द्र पौडेलसँग उनको निवास बोहोराटार पुगेर यस विषयमा छलफल गरेका छन् । निधिले पार्टी सभापति देउवाको सन्देश भन्दै पौडेललाई कार्यकाल थप गर्ने विषयसँगै विभाग गठनदेखि नेविसंघ र तरुण दल लगायतका भातृसंस्थाको नेतृत्व मनोनयनमा सहमतिका साथ अघि बढ्न चाहेको बताएका थिए । साथै उनले विभाग र भातृ संस्थाको नेतृत्वमा राख्न पौडेल पक्षबाट नामावली समेत माग गरेका थिए ।

यसविषयमा विभाग गठनदेखि नेविसंघ र तरुण दल लगायतका भातृ संस्थामा नेतृत्व पाउने भएमा सोच्न सकिने भन्दै पौडेलले थप छलफल आवश्यक रहेको बताएको स्रोतले दाबी गरेको छ ।

उता, देश संघीय संरचनामा गएपछि यसको संरचनात्मक ढाँचाकाँचाअनुसार पार्टीको संरचनालाई पनि बदल्नु पर्ने प्रक्रियामा प्रमुख प्रतिपक्षी दल कांग्रेस हलचल गर्न सकिरहेको छैन । पार्टी विधानमा संघीयतालाई स्वीकार गरिए पनि तदनुसार पार्टीको संरचनात्मक ढाँचाकाँचाको हेरफेरमा कांग्रेस निकै ढिलासुस्ती र अलमल गरिरहेको छ ।

पार्टी विधानमा संघीयता राखिएपछि पनि विना संघीयताको पार्टी चलिरहेको छ । पार्टीका हिसाबले यसका प्रदेश कमिटी र प्रतिनिधिहरु नै छैनन् । कांग्रेसले पार्टीको केन्द्र र जिल्ला चलाइरहेको छ । यसले पनि उक्त पार्टीभित्र अन्यौलता सिर्जना गरिरहेको छ । त्यसो त सत्ताधारी दल नेकपामा एकताको प्रक्रिया पूरा हुन बाँकी रहेको जस्तै कांग्रेसमा पनि उपसभापति विजयकुमार गच्छेदार समूहसँगको एकता अझैं बाँकी छ ।

एकता पनि बाँकी रहेको र संचनात्मक हिसाबले पनि पुरानै अवस्थामा रहेकाले कांग्रेस हाल गतिहीन अवस्थामा छ ।

पार्टीको प्रदेश तथा स्थानीय तह नै बनिनसकेका कारण यसका काम कारवाहीमा चुस्तता आउन नसकेको गुनासो कांग्रेसभित्रै छ । हाल केही मात्रामा स्थानीय तहका संरचनाहरु निर्माण छिटपुट रुपमा भए पनि पार्टी विधानअनुसार त्यसलाई अघि बढाइएको छैन ।

सात प्रदेशहरुका बारेमा बेलाबेलामा कुरा उठ्ने गरेको तर निकास ननिकालिएको कांग्रेस केन्द्रीय समितिका सदस्यहरु स्वीकार गर्दछन् । नेपाली कांग्रेसले गत वर्ष नै महासमिति बैठकपछि पार्टीको विधानलाई संघीय संरचनामा ढालिसकेको हो ।

कांग्रेसमा चलिरहेको अन्तरसंघर्षका कारण पनि यसले मूर्तता पाउन नसकिरहेको संस्थापा पक्षको आरोप छ । त्यसै गरी फरक मतका पक्षधरहरुले कांग्रेसी संस्थापन पक्षले नै संघीय संरचनाअनुसारको प्रदेश संरचनाको गठन गर्न नचाहेको बताइरहेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।