कोहलपुरमा प्रहरीले कुट्यो स्कूले बालबालिका, निर्दयीपनको पराकाष्ठा

हाम्रो सन्देश संवाददाता

मंसिर २२, काठमाडौं ।

ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर कोहलपुरमा दुई विद्यार्थी घाइते भएका छन्। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायका अनुसार दुई जना छात्रहरूको घुँडामूनि गोली लागेको छ।

उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको उपाध्यायले जानकारी दिए । उनका अनुसार ट्रकको ठक्करबाट घाइते भएकी छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।

‘हेलिकप्टर फर्किएर आएर थप दुई जनालाई पनि काठमाडौं लैजाने तयारी छ,’ उपाध्यायले भने । आइताबार दिउँसो तीन बजेदेखि कर्फ्यू लगाएपछि कोहलपुरको अवस्था शान्त भएको उनले बताए ।

बिहान १० बजेदेखि दिउँसो तीनबजेसम्म भएको झडपमा परी झन्डै ४० जना घाइते भएका थिए । कोहलपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीसहित १ दर्जन प्रहरी र २६ जना प्रदर्शनकारी घाइते भएका छन् ।

‘झन्डै ४० जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ,’ उपाध्यायले भने । घाइते भएकाहरूमध्ये प्रहरीलाई ढुंगामुढाबाट चोट लागेको छ भने प्रदर्शनकारीलाई रबरको गोली पनि लागेको छ ।

उनले स्थानीय आक्रोसित भएपछि एकाएक माहोल बिग्रिएको तर्क गरे । त्यस्तै उनले घटनामाथि राजनीतिक करण गर्न खोजिएको हो कि भन्ने आशंकासमेत पैदा भएको टिप्पणी ग रे।

‘तपाईंहरूले सबै जनता र राजनीतिक दललाई संयमता अपनाइदिन अपिल गरिदिनु पर्‍यो,’ प्रजिअ खड्काले भने, ‘जे भयो त्यसको अनुसन्धान हुन्छ, दोषीलाई कारबाही हुन्छ ।’

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।