यसकारण ३५ वर्षअघि नै गर्भधारण गरेर बच्चा जन्मई सक्नु पर्छ, हैन भने बच्चा र आमालाई नै गम्भीर असर पर्छ

हाम्रो सन्देश संवाददाता

डा. मीना प्रधान
महिला तथा प्रसूतिरोग विशेषज्ञ
मनमोहन मेमोरियल सामुदायिक अस्पताल, ठमेल

२५ वर्षको उमेर महिलाका लागि बच्चा जन्माउन उपयुक्त उमेर हो । सामान्यतया महिलामा प्रजनन क्षमताको विकास महिनावारी सुरु भएदेखि नै हुन्छ । तर, १८ वर्ष नपुग्दासम्म बच्चा जन्माउनका लागि महिला परिपक्व भइसकेका हुँदैनन् ।

आजभोलि प्रायजसो महिला करिअर र अध्ययनका कारण ढिलो विवाह गर्ने गर्छन् । बढी उमेरमा विवाह गर्नुको अर्थ बच्चा जन्माउन पनि ढिलाइ हुुनु हो । रोजगारी र करिअरमा बढी ध्यान केन्द्रित हुँदा धेरै दम्पतीले ढिला बच्चा जन्माउँछन् । जसले गर्दा आमा र बच्चाको स्वास्थ्यमा असर पर्ने सम्भावना अधिक रहन्छ ।

असर

महिलामा बच्चा जन्माउनका लागि १८ देखि ३० वर्षसम्ममा प्रजनन क्षमता उच्च हुन्छ । बिस्तारै उमेर बढ्दै जाँदा प्रजनन क्षमतामा पनि ह्रास आउन थाल्छ । महिला ३० वर्ष पुगेपछि कम अन्डा निष्कासन हुने भएकाले गर्भ रहने क्षमता घट्दै जान्छ । बच्चा जन्माउनका लागि चाहिने शक्ति अर्थात् स्वास्थ्यमा कमी आउँछ ।

३५ वर्षपछि बच्चा जन्माउँदा आमासँगै शिशुको स्वास्थ्यमा पनि असर देखिन्छ । बच्चाको नाक थेप्चो हुने, लुलो लंगडो हुने, अपांग हुनेलगायत जोखिम देखिन्छ । त्यस्तै, आमाको उमेर ढल्किसकेपछि जन्माइएका सन्तानमध्ये करिब एक प्रतिशतमा डाउन सिन्ड्रोम हुने गर्दछ ।

बच्चामा आनुवंशिक रोग लाग्ने सम्भावना बढी हुन्छ । आमा–बाबुमा लुकेर बसेका वंशानुगत रोगहरू, डाउन सिन्ड्रोम, पेन फिल्टर सिन्ड्रोम आदि रोग लाग्ने हुन्छ । बढ्दो उमेरसँगै महिलामा जिम्मेवारी र तनाव पनि बढ्छ । यसले मानसिक स्वास्थ्यमा असर गरिरहेको हुन्छ । ढिलो गरी जन्माइएका शिशुमा यस्तो तनावको असर देखिन्छ ।

बच्चा जन्माउन गाह्रो

३० देखि ३५ वर्षपछि महिलामा दुःख सहन सक्ने शारीरिक क्षमतामा कमी आउन थाल्छ । यसका साथै प्रजनन अंगले युवा अवस्थामा जस्तो काम गर्न सक्दैनन् । गर्भधारण गर्न नै गाह्रो हुने, सुत्केरी हुने वेलामा लामो समयसम्म पीडा हुने, जन्माउन नसक्नेजस्ता समस्या देखिन सक्छन् । यस्तै, उमेर बढ्दै जाँदा महिला आफैँमा विभिन्न रोगको समस्या हुने भएकाले बच्चामा त्यसको प्रत्यक्ष असर पर्छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।