उपनिर्वाचन : आयोगले भन्यो, ‘७० प्रतिशत बढी मत खस्यो’

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ मंसिर ।

३७ जिल्लाका ५२ पदका लागि भएको उपनिर्वाचनको मतदान कार्य सकिएको छ ।

निर्वाचन आयोगले एक संघीय, तीन प्रादेशिकसहित ५२ पदका लागि शनिबार गरेको उपनिर्वाचनको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा सकिएको जानकारी दिएको छ ।

आयोगले उपनिर्वाचनका लागि शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समायावधि तोकिएको थियो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा सकिएको जानकारी दिएका छन् ।

‘पाँच बजेदेखि मतदान प्रक्रिया सकिएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘७० प्रतिशतभन्दा बढी मतदान भएको सूचना आएको छ, हामी केहीबेरमै अद्यावधिक विवरण सार्वजनिक गर्छौ ।’
उनले छिटफुट घटना बाहेक उपनिर्वाचन भएका ३७ वटै जिल्लामा मतदाताहरु उत्साहका साथ सहभागी भएको बताए । प्रवक्ता श्रेष्ठले अहिले मतपेटिका संकलनको काम भइरहेको जानकारी दिएका छन् ।

कास्की–२ मा प्रतिनिसभा र भक्तपुर, दाङ, बाग्लुङमा प्रदेशसभा गरी देशभर ३७ जिल्लाका ५२ पदका लागि भएको उपनिर्वाचन भएको हो ।

त्यस्तै धरान उपमहानगरपालिकाको मेयर, पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षसहित स्थानीय तहका गरी ४३ वडाध्यक्षको पनि आजै मतदान भएको थियो ।

कास्की–२ मा २१ उमेदवार प्रतिष्पर्धामा छन् । त्यस्तै भक्तपुर, बागलुङ, दाङको प्रदेशसभा सदस्य निर्वाचन ४३ उमेदवार प्रतिष्पर्धामा छन् । अन्य स्थानका लागि २७३ उमेदवार मैदानमा रहेको आयोगले जनाएको छ ।

मतदानलाई लक्षित गरी कास्कीका ४ स्थानमा मतदान केन्द्र नजिकै बम विष्फोट भएको थियो भने देशका विभिन्न स्थानमा बम भेटिनुका साथै विष्फोट गराइएको थियो । विष्फोटबाट कुनै मानवीय क्षति भएको छैन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।