६० जनाको टोली लिएर प्रचण्ड चीन जाँदै, को-को छन् टोलीमा ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१४ मंसिर ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० दिने भ्रमणका लागि चीन जाने भएका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङको निम्तोमा प्रचण्ड ६० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जान लागेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा जाने प्रचण्ड नेतृत्वको जम्बो टोली आउँदो मंसिर २४ गते चीन प्रस्थान गर्ने जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र दुई कम्युनिष्ट पार्टीबीच काठमाडौंमा भएको छलफलका क्रममा अध्यक्ष प्रचण्डलाई चीन भ्रमणको निम्तो दिएका थिए ।

दुई महिनाअघि चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग र नेकपाको स्कुल विभागले काठमाडौंमा सी विचारधाराबारे छलफल गरेका थिए । त्यस क्रममा दुई कम्युनिष्ट पार्टीबीच भाइचाराको सम्बन्ध स्थापना गर्ने सहमति भएको थियो ।

भ्रमण टोलीको समन्वय नेकपा स्कुल विभागले गरिरहेको छ नेताहरुले जानकारी दिएका छन् । अध्यक्ष दाहाल भने तीन दिन बसेर फर्कने कार्यक्रम तय भएको स्रोतले जानकारी दिएको छ ।

विभागका सहइन्चार्ज वेदुराम भुसालका अनुसार अध्यक्ष दाहाल नेतृत्वको टोलीमा स्थायी समिति सदस्य भीम रावल, टोपबहादुर रायमाझीसहित १० जना हुनेछन् । भ्रमण दलमा केन्द्रीय सदस्य र पार्टीका केही जिल्ला अध्यक्ष रहने भुसालले बताए । चीन जाने टोलीमा रघुजी पन्त, प्रेम आले, यज्ञराज सुनुवार, भानुभक्त जोशीलगायत छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।