‘कालापानीबारे हामीले गम्भीर रुपमा भारतको ध्यानाकर्षण गराएका छौं’ : प्रचण्ड

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१३ मंसिर ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँगको सीमा समस्या राजनीतिक एवं कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने आवश्यकता औंल्याउँदै उत्तेजना र आवेग त्यागेर शालिन ढंगले समस्याको निरुपण खोज्नुपर्ने बताएका छन् ।

राजधानीमा आज (शुक्रबार) नेपाल–चीन मिडिया फोरमले गरेको नेपाल–चीन सहयोग सुदृढीकरण र दुई देशबीचको जनस्तरको सम्बन्ध विकासमा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ‘कालापानी’बारे हामीले गम्भीर रुपमा भारतको ध्यानाकर्षण गराएका बताएका हुन । उनले दुवै देशमा स्थिर सरकार रहेकाले समाधान खोज्न पनि सहज हुने पनि विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले भारतसँगको सीमा समस्या राजनीतिक एवं कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने आवश्यकता औंल्याउँदै विवेकशील भएर अघि बढ्नुको विकल्प नरहेको बताए । उत्तेजना र आवेग त्यागेर शालिन ढंगले समस्याको निरुपण खोज्नुपर्ने बताउँदै उनले भने–‘कालापानीबारे हामीले गम्भीररुपमा भारतको ध्यानाकर्षण गराएका छौं, दुवै देशमा स्थिर सरकार रहेकाले समाधान खोज्न पनि सहज हुनेछ ।’

उक्त कार्यशालामा अध्यक्ष प्रचण्डले चीन, भारत र नेपालबीचको साझेदारी ३ वटै मुलुकका निम्ति लाभप्रद हुने विचार व्यक्त गर्दै आफू ‘टु प्लस वान’को पक्षमा नरहेको स्पष्ट गरे । यस्तै उनले नेपाली जनताको सामाजिक–आर्थिक विकासको चाहना साकार तुल्याउन सन्तुलित सम्बन्धको जगमा सहायता जुटाउनेमा केन्द्रीत हुनुपर्ने सुझाव दिए ।

मञ्चका अध्यक्ष किशोर श्रेष्ठको सभापतित्वमा भएको कार्यशाला उद्घाटन सत्रमा पूर्व परराष्ट्रमन्त्री डा. रामशरण महतले चीनले हासिल गरेको विकासबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए ।

यसैगरी नेकपाका विदेश मामिला विभागका उपप्रमुख विष्णु रिजालले चिनियाँ राष्ट्रपतिको पछिल्लो भ्रमणले २ देशको सम्बन्ध रणनीतिक साझेदारीमा प्रवेश गरेको तथा नेपालले भारत र चीनसँग सन्तुलित छिमेक सम्बन्ध स्थापित गरी स्वतन्त्र परराष्ट्र नीतिलाई व्यावहारिक रुपमा कार्यान्वयन गरेको बताए । चिनियाँ दूतावासका सञ्चार अधिकृत वाङ जिलोङले नेपाल–चीन सम्बन्धका विविध पक्षबारे चर्चा गरेका थिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।