प्रधानमन्त्री ओलीका लागि मिर्गौला दिने नातेदारको परीक्षण हुँदै

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१२ मंसिर ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरु खोजिसकिएको थाहा भएको छ । नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ बर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेपछि संभावित दाता खोज्न थालिएको हो ।

त्यस क्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने एकजना गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको छ । स्रोतका अनुसार ससुरालीतर्फबाट नाता पर्ने ललितपुरकी महिला ५० बर्ष उमेर कटेकी छन् भने घरतर्फबाट नाता पर्ने झापाकी युवती ३५ बर्षमुनिकी हुन् ।

उनीहरुको प्रधानमन्त्री ओलीसँग घनिष्ट पारिवारिक नाता छ । दुवै महिलाबारे कान्तिपुरले विस्तृत विवरण प्राप्त गरेपनि उनीहरुको ब्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै परिचय खुलाइएको छैन् । उनीहरु दुवैको रगत, पिसाब, मिर्गौलाको सीटी एन्जियो, डीटीपीए स्क्यान, ईसीजी, ईको, अल्ट्रासाउन्डलगायत परीक्षण साताअघि नै एक सरकारी अस्पतालमा भइसकेको छ । कान्तिपुर दैनिकबाट

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।