ठेकदारले काम नगरे म नै अनसनमा बसेर जनताको साथमा रहनेछु : प्रचण्ड

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० मंसिर ।

नेकपा प्रदेश २ ले बाराको निजगढमा आज आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण व्यवसायीविरुद्ध आफू अनसन बस्न पनि तयार रहेको बताएका छन् । उनले समयमा विकास निर्माणको काम पूरा नगर्ने ठेकदारलाई कारबाही गर्न सरकारलाई आग्रह गर्ने र कारबाही नभए आफैं आएर अनशन बस्ने बताएका हुन् ।

‘यदि ठेकदारले युद्धस्तरमा काम गर्दैन भने तिनलाई के कारबाही गर्नुपर्ने म सरकारलाई भन्छु । यदि सरकारले सुन्न गाह्रो पर्‍यो भने म नै अनसनमा बसेर भए पनि तपाईहरुको साथमा रहने छु’ उनले भने । मधेससँग आफ्नो लभ परेको दोहोर्‍याउँदै उनले लभरलाई दुख दिनेविरुद्ध आफैं लड्ने प्रचण्डले बताएका छन् ।

तराई मधेसको जनताको विकास र समृद्धिको यात्रामा ध्यान केन्द्रित गर्ने जिम्मेवारी सरकार र पार्टीको भएको भन्दै उनले यो प्रक्रियामा अवरोध आयो भने जनतासँग मिलेर आन्दोलन गर्ने धारणा राखे । प्रचण्डले बारा, रौतहट, सर्लाहीका खेतमा पानीको अभाव हुन नदिने, सुनकोशी कमला डाइभर्सन आयोजनाबाट सप्तरी, सिराहा र धनुषाको सिञ्चाई समस्या समााधान गर्ने पनि बताए । हुलाकी राजमार्गलाई निर्धारित समयमा निर्माण सक्न रकमको अभाव हुन नदिने पनि उनले बताएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।