सरकारले नक्सा छाप्न नसक्ने भए काङ्ग्रेसलाई जिम्मेवारी दिन प्रवक्ता शर्माको आग्रह

हाम्रो सन्देश संवाददाता

मंसिर,९ पोखरा ।

प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल सरकारले नेपालको नक्सा छाप्न नसके आफ्नो पार्टीले छाप्ने बताएका छन् । सोमबार पोखरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै शर्माले नक्सा छाप्न नसके आफ्नो पार्टीलाई जिम्मेवारी दिन समेत आग्रह गरेका छन् ।

‘नेपालको नक्सा सरकारले ३ दिनभित्रमा जारी गरोस्, कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा छपाईमा केही समस्या छ भने सरकारले भनोस्,’ उनले भने, ‘सरकारले ३ दिनमा नक्सा जारी गर्न सक्दैन भने, प्रतिपक्षलाई अपिल गरोस्, नक्सा जारी हामी गछौं ।’ देशको सीमा मिचिरहँदा सरकारले गम्भिरतापूर्वक ध्यान दिनुपर्ने पनि उनले औल्याए । कालपानी मार्च गर्न पठाएका युवा अहिलेको सरकारको मन्त्री भएको उनले बताए ।

‘देश, विदेशमा रहेका नेपालीले हाम्रो भूमि किन हाम्रो हुन सकेन भनेर प्रश्न उठाइरहँदा सरकार र पार्टीहरु यसको पक्षमा किन उत्रिन नसकेको’ भन्दै उनले प्रश्न गरे । गएको ७ गते आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिका कारण विवादमा परेको प्रसंगमा सभापति देउवाले आशंका मात्रै राखेको स्पष्टीकरण दिए ।

आफ्ना समकक्षीलाई जन्मदिनको शुभकामना दिन सक्नेले सिमा विवादको विषयमा एक कल फोन पनि गर्न नसकेको भन्दै उनले सरकारको कडा आलोचना गरे । यो बेला सभापति देउवासँग उत्तर खोज्नुभन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जवाफ माग्न समेत उनले आग्रह गरेका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।