प्रधानमन्त्रीले बाहिर राष्ट्रवादको डंका पिट्ने, भित्रभित्रै लत्रिने – बाबुराम भट्टराई

हाम्रो सन्देश संवाददाता

मंसिर,८ काठमाडौं ।

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कालापानी क्षेत्रको अतिक्रमण हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक पहल नगरेको आरोप लगाएका छन् ।

बाहिर राष्ट्रवादको नारा लगाएका शासकहरु आन्तरिक रुपमा सत्ताको डरमा लत्त्रिने गरेको उनको दाबी छ । कास्की २ का समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङको चुनावी सभामा भट्टराईले प्रधानमन्त्री ओली नक्कली राष्ट्रवादी भएको बताए ।

अहिले कालापानी र लिपुलेकको विषय उठिरहेको भन्दै उनले भने, ‘यहाँका शासक बाहिर राष्ट्रियताको डंका पिट्ने र भित्रभित्र विदेशी शक्तिसँग झकेर आफ्नो भूमि सुम्पने काम गरेका छन्, चाहे राजा महेन्द्र हुन्, चाहे अहिलेका केपी ओलीसम्म हुन् । त्यत्रो राष्ट्रवादको नारा उठाउने मान्छेले यो विषयमा किन केही गरिरहनुभएको छैन ?

हिजो कसैले थाहा नपाउने गरी डिप्लोम्याटिक नोट लेखेर पठाउनुभएको छ रे । त्योबाहेक अहिलेसम्म कुनै राजनीतिक पहल गर्नुभएको छैन । तर बाहिर देखाउनका लागि मैले भारतीय सेना फिर्ता लैजाऊ भन्दिएँ भनेर डंका पिट्नु भयो ।

भदौ २३ गते प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा आफूले राजनीतिक रुपमा बार्ता गरेर समस्या हल गर्न सुझाएको उनले सुनाए । राष्ट्रवादी भन्नुहुन्छ, अब सीमाको रक्षा कसरी गर्नुहुन्छ भनेर आफू प्रधानमन्त्रीलाई सोध्नुका साथै विकल्प पनि दिएको उनले बताए ।

आफ्नो भूमि रक्षा गर्न सेनाको प्रयोग गरेर विदेशी शक्तिलाई आफ्नो सीमाबाट हटाउने वा संवादबाट हल गर्ने दुई उपाय रहेको र आफूले दोस्रो विकल्पमा जान सुझाइको भट्टराईले सुनाए । ‘कर्मचारी तहबाट यो समस्याको हल हुँदैन । सिधै प्रधानमन्त्री मोदीसँग वार्ता गर्नुस् र राज्यस्तरको वार्ता अगाडि बढाउनुस् हाम्रो साथ रहन्छ सुरुमै मैले विषय राखेको थिएँ । आजसम्म किन केही गरिएको छैन,’ भट्टराईले भने ।

उनले अघि भने, ‘हिजो कसैले थाहा नपाउने गरी डिप्लोम्याटिक नोट लेखेर पठाउनुभएको छ रे । त्योबाहेक अहिलेसम्म कुनै राजनीतिक पहल गर्नुभएको छैन । तर बाहिर देखाउनका लागि मैले भारतीय सेना फिर्ता लैजाऊ भन्दिएँ भनेर डंका पिट्नु भयो ।’

भट्टराईले बाहिर राष्ट्रवादको डंका पिट्ने र भित्रभित्र सत्ताको डरले लत्रक्क परेर बस्ने नक्कली राष्ट्रवादबाट कहिले मुक्त हुने भनेर प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन् ।

जनताका अगाडि तिघ्रा ठटाएर म राष्ट्रवादी भन्ने र आन्तरिक रुपमा लत्रक्क परेर माखो नमार्ने अन्ध राष्ट्रवादबाट बच्न जरुरी रहेको उनको भनाइ थियो । समाजवादी पार्टीले अन्ध राष्ट्रवादको होइन, देशभक्ति पूर्ण बाटो लिने उनले बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले जनयुद्ध लडेको, ३० वर्षसँगै काम गरेका पुष्पकमल दाहाल प्रचण्ड समेत थाकेर एमालेको चौतारीमा भारी बिसाउन गएको बताए ।

जनजाति, दलित, मधेसी प्रधानमन्त्री बनेको देख्ने सपना छ

समाजवादी पार्टीका नेता भट्टराईले खसआर्य समुदायमा पहिचानसम्बन्धी केही भ्रम रहेको धारणा राखे । कतिपय मान्छेले बाबुराम त मधेसतिर गए भनेर भ्रम फैलाइरहेको पनि उनले उल्लेख गरे ।

केही दिनअघि गोरखा जाने क्रममा आफूले लिफ्ट दिएको महिलाको कुरा सुनाउँदै उनले भने, ‘गाडीमा चढेपछि दाइ त मधेसतिर जानुभो भन्छन् भन्नुभो । मैले किन मधेस जान हुँदैन । मधेस हाम्रो होइन भनें । उहाँले खोइ, यहाँ त सबैले बाबुराम मधेसतिर लाग्नु भो भन्छन् भनिन् ।’

‘एउटा गाउँको किसान महिलामा यस्तो भ्रम छरिएको छ । आफ्नो देशको भूभाग, आधा जनसंख्या तराइ मधेसमा बस्छ, जसले अन्न नदिने हो भने हाम्रो पेट भरिँदैन । अनि बाबुराम मधेस गयो, उपेन्द्र यादव मधेसी भयो भन्ने ? यसरी भ्रमको राजनीति गरेर हुन्छ ?’

भट्टराई पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम लिँदै भने, उपेन्द्रले नेपाली ठहरिनका निम्ति नेपाली भाषा बोल्नैपर्ने अनि पहाडेले चाहिँ नेवारी, मैथिली, थारु, बोल्न नपर्ने ?
भट्टराईले पुरानो सोच पालेर नबस्न र मधेस, थारुले पहिचान खोज्दा नआत्तिन खसआर्यलाई आग्रह गरे ।

उनले नेपालमा दलित, मधेसी र जनजातिबाट देशमा प्रधानमन्त्री भएको हेर्न सपना रहेको पनि सुनाए । ‘अहिलेसम्म देशमा ३८ जना प्रधानमन्त्री भए । म ३५ औं प्रधानमन्त्री भएँ । अहिलेसम्म प्रमुख कार्यकारी पदमा मरिचमान श्रेष्ठबाहेक जनजातिको प्रधानमन्त्री किन बनेन ? मधेसको मान्छे किन प्रधानमन्त्री भएको छैन ।

एउटा थारु किन प्रधानमन्त्री भएको छैन ? एउटा दलित किन प्रधानमन्त्री भएको छैन ? महिला किन प्रधानमन्त्री भएको छैन ?’ भट्टराईले भने, ‘एउटा जनजातिको छोरो प्रधानमन्त्री होस्, एउटा दलित प्रधानमन्त्री होस्, एउटा मधेसी प्रधानमन्त्री भएको देख्न चाहन्छु ।’

सरकारमा पनि संघर्ष गरिरहेका छौं : उपेन्द्र

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी पार्टी सरकारमा पनि संघर्ष नै गरिरहेको बताएका छन् । हालै भएको मन्त्रिपरिषद् पुनर्गठनको उनको स्वास्थ्य मन्त्रालय खोसेर कानून दिइएको छ । त्यसमा असहमति जनाएको उसले सरकार भने छाडेको छैन ।

‘समाजवादीको हात थप्पडका निम्ति पनि हो र हात मिलाउनका निम्ति पनि हो,’ यादवले भने । सरकार पनि नछाड्ने र सरकारको आलोचना पनि गरिरहेको भन्दै समाजवादीप्रति उठिरहेको प्रश्नप्रति लक्षित गर्दै यादवले सरकारबाट बसेर संविधान सच्याउन संघर्ष गरिरहेको बताए ।

‘भन्नुहोला, सरकारमा पनि बस्ने र संघर्ष पनि भन्ने ? सदनमा पनि संघर्ष गरिरहेका छौं । सरकारमा पनि संघर्ष चलिरहेको छ । सडक संघर्षलाई मूल संघर्षका रुपमा लिएका छौं,’ यादवले भने, ‘यदि संसदीय संघर्षबाट मुलुकमा परिवर्तन आउँदैन, सुशासन हुँदैन, मुलुकमा शताब्दीयौंदेखि चलिआएको असमानताको अन्त्य हुँदैन । आदिवासी, जनजाति, दलितलगायतका विभेदमा परेका समुदाय, विपन्न वर्गले अधिकार पाउँदैन भने सडक संघर्ष पनि बिर्सेका छैनौं ।’

चुनावी सभालाई समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, उम्मेदवार धर्मराज गुरुङलगायतले सम्बोधन गरेका थिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।