प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा रिमाल यथावत, ६ जना पदमुक्त

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ कार्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार तथा सचिवालय टिमले सामूहिक राजीनामा दिएको समाचार बाहिर आएसँगै चुलिएको चर्चा अहिले क्रमशः सेलाएको छ । बालुवाटार स्रोतका अनुसार प्रेस सल्लाहकारसहित ६ जनाको राजीनामा प्रधानमन्त्री ओलीले स्वीकृत गरेका छन् ।

यसरी राजीनामा स्वीकृत भएपछि पदमुक्त हुनेमा जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार कुन्दन अर्याल, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल रहेको स्रोतको दाबी छ ।

सचिवालय टिममा हाल १३ जना कार्यरत रहेका थिए । १३ मध्ये ६ जनाको राजीनामा स्वीकृत भइसकेको बताइएको छ ।

प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको विषयमा प्रधानमन्त्री ओली विचाराधिन अवस्थामा रहेको पनि स्रोतले बताएको छ । प्रधानमन्त्रीले प्रमुख सल्लाहकारमा विष्णु रिमाल र विदेश मामिला सल्लाहकार राजन भट्टराईलाई निरन्तरता दिने भएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।