टेकु अस्पतालका डा. राजभण्डारीले लगाउने, नेपालमा कोरोनाविरुद्धको पहिलो खोप

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ माघ ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक सागर राजभण्डारीले लगाउने भएका छन् । बुधबार बिहान १० बजे सुरु हुने खोप अभियानअन्तर्गत आफूले पहिलो खोप लगाउने डा. राजभण्डारीले बताए । उनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकै केन्द्रमा खोप लगाउनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे काठमाडौंको तीन वटा अस्पतालमा भर्चुअल विधिबाट एकैचोटि खोप अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । बुधबारदेखि सुरु हुने खोप अभियानका लागि सातै प्रदेशमा खोप पुर्‍‍याइएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

खोपप्रति धेरैमा आशङ्कासमेत रहेकोले खोप सुरक्षित रहेको सन्देश दिन आफूले पहिलो खोप लगाउन लागेको डा. राजभण्डारीले बताए । उनले भने, ‘खोपले कुनै असर पो गर्छ कि भन्ने डर अहिले सामान्य नागरिकसँगै कतिपय स्वास्थ्यकर्मीहरूमा पनि छ, यस्तो बेलामा यो खोप सुरक्षित छ भन्ने सन्देश दिनु आवश्यक छ, त्यसैले मैलै पहिलो खोप लगाउने निर्णय गरेको हु, मसँगै हाम्रो अस्पतालका प्रवक्ता अनुप बाँस्तोलाले पनि खोप लगाउनुहुन्छ, कोरोनाविरुद्ध सुरुवातदेखि अग्रपङ्क्तिमा रहेका मानिसले खोप लगाउँदा अरूलाई पनि खोपप्रतिको डर हराउँछ भन्ने लागेको छ ।’

विभागअन्तर्गतको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले चार लाख ३० हजार जनालाई खोप लगाउने तयारी रहेको बताए । सरकारले भारतबाट अनुदानमा आएको १० लाख डोज खोप सुरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स तथा श’ववाहन चालकलगायतलाई दिने जनाएको छ ।