पेरुमा भएकाे सवारी दुर्घटनामा परी १९ जनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २७ कार्तिक ।

पेरुको उत्तरी ला लिबरटाडमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् ।

पेरु प्रहरीका अनुसार उक्त बस पहाडी राजमार्गको सडकबाट करिब ३ सय मिटर तल नदीमा खसेको थियो । उक्त बस राजधानी लिमाबाट उत्तरतर्फ करिब ५५७ किलोमिटर टाढा त्रुजिलो सहर नजिक भएको हो ।

प्रहरी अधिकारी लुइज कोन्भेनासले बाक्लो हुस्सुका कारण बस दुर्घटना भएको हुनसक्ने बताए । घाइतेहरुको उद्धार गरी उपचारका लागि नजिकका अस्पतालमा भर्ना गरिएको पनि उनले जानकारी दिए ।

प्रहरीका अनुसार उक्त बस कालान्काबाट त्रुजिलोतर्फ गइरहेको थियो । पेरुमा एन्डिज पर्वतमालामा बारम्बार सडक दुर्घटना हुने गरेका छन् । यो भूभाग समुद्री सतहबाट २ हजारदेखि ३ हजार मिटर उचाइमा छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...