मलाई पनि संस्कारी श्रीमान् चाहियो !

हाम्रो सन्देश संवाददाता

मीना ढकाल,

उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो।

तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा कम छैन। रमाइलो गर्ने उमेरले होइन, मनले हो, चाहनाले हो, रहरले हो भन्ने गतिलो उदाहरण हुन् उनी।

सामाजिक सञ्जाल टिकटकमा उनका १२ हजारभन्दा बढी फलोअर छन् भने उनले बनाएका प्रत्येक भिडिओहरू १५ हजारभन्दा बढीले लाइक गर्ने गरेका छन्।

युवा पुस्तामाझ निकै लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकमा उनका ती भिडिओहरू हेर्दा लाग्छ, उनी भर्खर जवान भएकी छन्, उनको लाउँलाउँ खाउँखाउँको उमेर भर्खरै आएको छ र बल्ल रमाइलो गर्दै जिन्दगीको मज्जा लिइरहेकी छिन्।

उनी अहिले सेलिब्रेटी भएकी छिन्।

युट्युब च्यानलहरूमा उनका प्रशस्त भिडिओहरू, अन्तर्वाताहरू हेर्न पाइन्छ। उनी चर्चित भने आफ्ना पतिसँगको २२ वर्षे लामो वैवाहिक सम्बन्धविच्छेद गरेपछि बनिन्।

यस अर्थमा उनी २२ वर्षसम्म गुमनाम बसिन्। उनकै शब्दमा भन्दा सम्बन्धविच्छेद भएको दिन उनका लागि स्वतन्त्रता दिवस हो।

उनी हुन् चर्चित हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी। उनको श्रीमानसँग सम्बन्धविच्छेद भएको वर्षदिन भन्दा बढी भइसकेको छ।

सम्बन्धविच्छेद हुनुको कारण उनका अनुसार गजुरेलले उनलाई ‘स्वतन्त्रता’ नदिनु नै मुख्य हो।

खान, लाउन, हिँड्न, रमाइलो गर्न श्रीमानलाई खुसी बनाएर मात्र गर्नुपर्ने भएकाले आजित भएर बुढेसकालमा यस्तो नमिठो निर्णय लिएको उनले अन्तर्वाताहरूमा सुनाएकी छिन्।

२२ वर्षसम्म आफ्ना रहरहरू दबाएर श्रीमानको खुसीमा खुसी हुने प्रयत्न गरेकी उनी श्रीमानबाट अलग भएपछि झनै खुसी छन्। श्रीमानसँग छुट्टिने भनी गरेको निर्णयमा आजसम्म कुनै पश्चाताप छैन उनलाई।

मिना ढकालको प्रसंग जोडेर भन्न खोजेको यति मात्र हो, महिला होस्, पुरुष होस्, विवाहित होस् वा अविवाहित, १६, २०, २५ वा ४५ वर्षको होस् वा ७५ वर्षको,आजको युगमा सबैका लागि स्वतन्त्रता अति नै आवश्यक छ।

कसैलाई कसैको बन्धनमा परेर बाँच्न किमार्थ राम्रो लाग्दैन। आफ्नो वरिपरिको वातावरण, परिवेश अनुसारको स्वतन्त्रता सबैका लागि बराबरी मात्रामा हुनुपर्छ मिना ढकालका लागि, मेरा लागि अनि तपाईंका लागि।

सायद मिना ढकालले त्यही स्वतन्त्रताको लागि यो उमेरमा आएर छोराछोरी ठूला भइसकेपछि पनि यस्तो अप्रिय निर्णय लिनुपर्यो।

हाम्रो नेपाली समाज कानुनी रूपमा जति नै महिलामैत्री भए पनि असली व्यवहारमा भने अझै पुरुषवादी चिन्तन र सोचले यसरी जरा गाडेर बसेको छ कि पुरुषहरूले र महिलाहरूले समेत व्यवहारिक रूपमा आफ्नी श्रीमती, छोरी, महिला साथी, भाउजु, बुहारी, भान्जी, भतिजीलाई अझै नियन्त्रणमा राखेका छन्।

लगाएको लुगा, हिँडेको समय, बोलेको शब्द लगायतका आधारमा उनीहरूबारे धारणा बनाउँछन्, यो सोचका साथ कि, उनीहरू मनोमानी रूपमा बाहिर गए आफ्नो इज्जत पनि बाहिर जाला, उनीहरूले छोटो लुगा लगाएर हिँडे आफ्नो प्रतिष्ठा पनि छोटो हुँदै जाला, उनीहरूले पार्टीमा गएर अलिकति अल्कोहल पिए समाजले आफ्नो इज्जत पिइदिएला, उनीहरू राति ८ बजेसम्म अर्थात् अँध्यारो भएपछि पनि घर नआए घरको इज्जतमा ग्रहण लाग्ला।

मानौं प्रत्येक व्यक्तिको, घरको, समाजको हुँदै सिंगो देशको इज्जतको डोरो महिलासँग छ, जसलाई चुँडिन नदिनका लागि हरेक महिलाको हातखुट्टा, शरीर मात्र होइन, मन मस्तिष्क पनि जन्जिरले बाँधिन्छ।

जसको फलस्वरूप महिलाहरू खास गरेर विवाहित महिलाहरू आज पनि भित्रभित्रै पिल्सिएर, थिच्चिएर, गुम्सिएर आफ्ना हरेक इच्छाहरूलाई तिलान्जली दिएर श्रीमानको अनि घरको, बुवाआमाको, दाजुभाइको इज्जत बचाउन लागिरहेका छन्, सायद निरिह बनी अनि निरन्तर रूपमा।

तर ती महिलाहरूको धैर्यताको बाँध फुटेपछि थुप्रै मिना ढकालहरूको उत्पत्ति हुन्छ भन्ने हेक्का श्रीमानहरूले, पुरूषहरूले राख्ने बेला आएन र?

श्रीमतीहरूको चाहनाको चाहिँ कदर नगर्ने अनि श्रीमतीले चाहिँ आफ्नो हरेक चाहनाको कदर गरोस् र समाजमा आफ्नो इज्जत पनि उसले नै जोगाइदिराखोस् भन्ने मानसिकता कहिलेसम्म राख्ने?

आफ्ना श्रीमतीलाई कहिलेसम्म आफ्नो इज्जतको गह्रुँगो भारी बोकाइराख्ने र उनीहरूको प्रगतिको बाधक बनिराख्ने? हरेक पुरूषवादी सोच भएकाले सोच्ने बेला भएन र?

एकातिर मेरी श्रीमतीलाई त मैले स्वतन्त्र छोडिदिएको छु, उसले जे गरोस् उसको इच्छाले गर्छे भन्ने अनि अर्कोतिर केही किन्न पसल जानपरे पनि मलाई सोधेर मात्र जाओस् जस्तो गरी आशा राख्ने?

ए महान् पुरुषहरू कमसेकम ढोंगी त झनै नबनिदेऊ न कृपया।

भर्खरै अर्को एउटा समाचारले पनि बजार निकै तात्यो।

नेपाली चलचित्रकी नायिका शिल्पा पोखरेलले पनि आफ्ना श्रीमानले हरेक कुरामा आफूलाई नियन्त्रणमा राख्न खोजेको र त्यो सहन नसकेर आफू श्रीमानसँग बस्न नसक्ने भन्दै मुद्दा हालिन् जसको प्रक्रिया अघि बढिरहेको छ।

अझ उनका श्रीमानले त बिना कारण कानको जाली नै फुट्ने गरी गालामा थप्पड हानेको समेत पोखरेलले दाबी गरेकी छन्।

यो सबै पुरूषवादी सोचकै कारण भएको हो। म पुरूष हुँ, म यसको श्रीमान हुँ, यसले मैले भनेको मान्नुपर्छ, मैले भनेको काम गर्नुपर्छ, मैले भनेको ठाउँमा मात्र जानुपर्छ, मैले मन पराएकासँग मात्र यसको सम्बन्ध हुनुपर्छ, मैले मन पराएको लुगा मात्र लगाउनुपर्छ आदि इत्यादि सोच यस्ता पुरूषमा हुने गर्छ।

अनि जब आफ्नी श्रीमतीले थोरै तलमाथि गर्न थाल्छिन् तब उसको इज्जतमा दाग लाग्न थाल्छ र उसले आफ्नी श्रीमतीलाई नियन्त्रणमा लिन बल प्रयोग गर्न सुरू गर्छ। शिल्पा र छविको सन्दर्भमा यही नै भएको हो सायद।

उनीहरूका कुरा बाहिर आए र उनीहरूको बारेमा थाहा भयो, तर सोच्नुस् त डर, इज्जत, असुरक्षा, अपरिपक्वता, हिनताबोध अनि हिम्मतको कमीका कारण कति महिलाहरू खास गरेर श्रीमतीहरू आफ्ना सामान्य चाहनाहरू पनि दबाएर बसेका होलान्।

सोच्नुस् त यदि मिना ढकालले मनोज गजुरेलसँग सम्बन्धविच्छेद नलिएको भए के उनी अहिलेजस्तो गरी स्वतन्त्र भएर टिकटकका भिडिओ बनाउने आँट गर्न सक्थिन्?

अर्को प्रसंग जोडौं।

मेरो एक जना नजिकैका साथी भनौं, उनी मेरा नातेदार पनि हुन्,केही काम परेर कार्यालय छुट्टी भएपछि म उनको घरमा पुगेकी थिएँ। झमक्क साँझ परिसकेको थियो। उनी घरमा थिएनन् म र उनकी श्रीमती गफ गरेर बसिरहेका थियौं।

हामी गफमा मस्त भएका बेला उनी सायद कार्यालयबाट आए, झोला मसँगै रहेको सोफामा राखे र आफू पनि त्यहीँ बसेर मोजा फुकाले। उनको आगमनसँगै उनकी श्रीमती र मेरो मज्जाको गफ टुंगिसकेको थियो।

केही अघि मसँग मस्त गफमा रहेकी उनकी श्रीमतीले आफ्ना श्रीमानले भुइँमा फालेको झोला र मोजा उठाइन् र भित्रपट्टि रहेको अर्को कोठामा लगिन्।

उनकी श्रीमती भान्छातिर लागिन् भने उनी मसँग गफ गर्न थाले, त्यतिन्जेल उनकी श्रीमतीले चिया पकाएर ल्याइन्, चियासँगै केही बिस्कुटका पानाहरू पनि सँगै राखिदिइन्।

उनले चियाको चुस्की लगाउँदै श्रीमतीतिर फर्केर भने ‘आज माछा तार है, मलाई माछा खाना मन छ।’

यति भन्दैभन्दै उनी उठे र ढोकानिर पुगेर फेरि बोले ‘तिमी बनाउँदै गर, म खाने बेलासम्म आइपुग्छु, एकैछिन साथीहरूले भेटघाटका लागि बोलाएका छन्, के गर्नु साथीहरुलाई पनि समय दिनैपरो।’

उनले अगाडि श्रीमतीको तारिफमा मतिर हेर्दै थपे, ‘घरमा व्यवहारिक र संस्कारी श्रीमती भएपछि चाहिँ ढुक्क हुने। घर व्यवहारको केही चिन्ता लिनु नपर्ने।’

यति भनेर उनी बाहिर निस्के।

श्रीमती पनि मख्ख पर्दै ‘हस् अलि चाँडै आउनु है’ भन्दै भान्सातिर लागिन्।

उनको घरबाट निस्केपछि मेरो मन निकै बेचैन भयो।

जागिर त मेरी नातेदारकी श्रीमती पनि खान्छिन्, श्रीमानसरह पैसा पनि कमाउँछिन्, थकान त उसलाई पनि लाग्ला, साथीहरू त उनका पनि होलान्, रिल्याक्स त उनलाई पनि चाहिएला, तारेको माछाको साटो उनलाई तारेको आलु खान मन लाग्ला तर उनका यी चाहनाहरूको कदर गरिदिने संस्कारी र व्यवहारिक पुरुष खै त?

कार्यालयबाट फर्केपछि भान्छामा व्यस्त, बिहान उठेदेखि कार्यालय जानुअघि सम्म पनि भान्छामै व्यस्त, बिदाको दिन घर सरसफाइ, लुगा धुने काम गर्दा गर्दै व्यस्त।

खै त उनका लागि समय?

यति हुँदा पनि मैले अहिलेसम्म उनले यसबारे गुनासो गरेको कतै सुनेकी छैन, उनलाई गुनासो छ/ छैन थाहा भएन तर म उनको ठाउँमा भएको भए मेरा श्रीमानसँग गुनासो गर्थें।

अझ उनले पछाडि श्रीमतीलाई तारिफ गर्दै भनेको शब्दले त मलाई झनै बेचैनी भो।

उनले आफ्नी श्रीमती व्यवहारिक र संस्कारी छिन् भन्नुको मतलब उनकी श्रीमतीले नाईं नभनीकन श्रीमानको सबै चाहना पूरा गरिदिन्छिन्।

व्यवहारिक र संस्कारीको परिभाषा मेरा नातेदारले दिएको जस्तो हो भने श्रीमतीहरूलाई पनि व्यवहारिक र संस्कारी श्रीमान् चाहिएको छ, जसका कारण हरेक श्रीमतीहरूले आफ्ना चाहना स्वतन्त्र रूपमा पूरा गर्न सकून् र त्यसमा श्रीमानहरूले भरपुर साथ दिऊन्।

तर यथार्थमा कहाँ त्यस्तो हुन्छ र,जति भनेनी जे भनेनी, जति लेखहरू लेखिए पनि, सयौं दस्तावेज बने पनि महिलाको सवालमा व्यवहारिक रूपमा अझै धेरै कुराहरू गर्न बाँकी छ।

यो लेख पढेर केही विद्धान पुरूष र महिलाहरूले लेखको मुख्य आशयलाई नै बंग्याएर बढो सतही रूपमा विश्लेषण पनि गरिदिनुहोला, ए टिकटकमा भिडिओ बनाउने स्वतन्त्रताका लागि पो हो महिलाले समानता खोजेको? जुन प्रश्नको जवाफ म यसै लेखमार्फत् प्रष्ट रूपमा दिन चाहन्छु।

टिकटकमा भिडिओ बनाउनुलाई मैले महिलाको स्वतन्त्रतासँग एउटा उदाहरणका रूपमा मात्र जोडेर हेर्न खोजेकी हुँ।

टिकटक सँगै जागिर खाने, कसैको चाहना अनुसारको नभई आफ्नो चाहना अनुसारको खाने, लगाउने, हिँड्ने, सोच्ने लगायतका स्वतन्त्रताहरू महिलाहरूले हरेक तहमा पाउनुपर्छ। चाहे बिहे अगाडि होस् वा बहे पछाडि।

यदि उक्त स्वतन्त्रता महिलाले पाइनन् भने भोलि अरू मिना ढकाल र शिल्पा पोखरेलहरू थुप्रै जन्मन सक्छन्, जुन नहोस् भन्ने मात्र चाहना हो मेरो अनि सायद तपाईंहरू धेरैको।

महिला हुने वित्तिकै घर व्यवहार चलाउने, अनि पुरुषले भनेको अनुसार चले उ सही, संस्कारी, अनि पुरुषले अर्थात् उनका श्रीमानले भनेको अनुसार नगरे र घर व्यवहार चलाउन नजाने चाहिँ ऊ संस्कार नभएकी, खराब महिलाको संज्ञा दिने सानो सोच कमसेकम अहिलेको युवा पुरुष पुस्ताले आजैबाट त्यागौं र आफ्ना श्रीमतीलाई पनि उसको चाहाना अनुसारको जीवन बाँच्न दिऊँ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...