कालापानीको विषयलाई तत्कालै अन्तर्राष्ट्रियकरण नगरौं– प्रचण्ड

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २५ कार्तिक ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई तत्काल अन्तर्राष्ट्रिकरण गर्न उपयुक्त नहुने बताएका छन्।

भारतबाट मिचिएका क्षेत्रमा पहिले भारतसँगै वार्ता गर्नु उपयुक्त हुने पनि प्रचण्डको भनाइ छ।

सोमबार संघीय संसदको राज्य व्यवस्था समितिको बेठकमा उपस्थित भएका प्रचण्डले भारतसँग गम्भीर वार्ता गर्दा पनि समाधान नभए मात्रै उक्त विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए।

‘कालापानी, लिपुलेकको विषयलाई अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने भनेर नभनौं,’ प्रचण्डले भने, ‘यदि भारतसँग गम्भीर वार्ता गर्दा पनि समाधान निस्किएन भने मात्रै पछि हेरौंला।’

बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेदका आधारमा लिम्पियाधुरा पूर्वको क्षेत्र नेपाल र पश्चिमको क्षेत्र भारतको रहेकोमा कुनै अन्योल नरहेको बताए । महाकाली नदीको मुहान लिम्पियाधुरा भएको र त्यसको पूर्व नेपाल तथा पश्चिमतर्फको भाग भारतको भएको प्रचण्डले बताए।

प्रचण्डले विगतमा स्थिर सरकार नभएका कारण पनि यसमा विवाद भएको बताए । प्रचण्डले भने, ‘विगतमा स्थिर प्रकारको सरकार नभएका कारण यो विषयमा समस्या भएको थियो । हामी नेपालको एक इञ्च पनि जमिन छाड्दैनौं र अर्काको भूमि पनि लिँदैनौं।’

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।