नेता गगन थापाले भने : “बहुमत प्राप्त प्रधानमन्त्रीले सरकार चलाउन नसके घर बस्ने हो “

हाम्रो सन्देश संवाददाता

बुटवल, ९ माघ ।

कांग्रेस नेता गगन थापाले प्रधानमन्त्रीले सरकार चलाउन नसके राजनीति छोड्नुपर्ने बताएका छन् । बिहीबार बुटवलमा आयोजित विरोध सभामा बोल्दै थापाले पटकपटक सरकार चलाउन नसकेर संसद् भंग गरेको भन्ने प्रधानमन्त्रीको भनाइको खण्डन गरेका हुन् ।

संविधानमै नभएको व्यवस्थाबाट संसद् भंग गर्नु केपी ओलीको असंवैधानिक र गैरराजनीतिक कदम भएको थापाले बताए । उनले भने, ‘बहुमत प्राप्त प्रधानमन्त्रीले सरकार चलाउन नसके घर बस्ने । घर बस्न नसक्ने वन पस्ने । मलाई अदालतमा उभ्याइए त्यही जवाफ दिन्थें ।’ संविधानमै नभएको व्यवस्थाको यस्तो प्रश्न सोधर न्यायाधीशहरुले समेत समय खेर फाल्न नहुने उनले बताए ।

नेता थापाले प्रधानमन्त्रीले संसद् भंग गरेर देशलाई दुर्घटनामा फसाएको दाबी गरे । प्रधानमन्त्रीले गरेको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले सच्चाइदिनुपर्ने उनले तर्क गरे । सर्वोच्च अदालतले कुनै भ्रममा नपरी संविधान सम्झेर निर्णय गर्ने विश्वास आफूमा रहेको बताउादै त्यसबाहिर न्यायाधीश जान नहुने बताए । ‘बाहिर भएको हल्लाले प्रभाव नपारोस् ।

बन्द कोठाको खासखुसले पनि प्रभाव नपारोस्,’ उनले भने, ‘न्यायाधीशहरुलाई आफ्नो ड्युटी र कर्तव्यले मात्रै प्रभाव पारोस् ।’ उनले अमेरिकामा डोनाल्ड ट्रमले संविधान र कानुन मिच्न खोज्दा उनका सहयोगीले साथ नदिएजस्तै सर्वोच्चका न्यायाधीशहरुले पनि गलत कामको साथ दिन नहुने बताए । ‘हामीले न्यायाधीशहरुलाई केही भनेका छैनौं,’ उनले भने, ‘श्रीमानहरुले धर्म नछाडिसियोस् ।

न्याय नमारिसियोस् । संविधान बाहिर नगइसियोस् । यत्तिमात्र भनेका छौं ।’ नेता थापाले प्रधानमन्त्री केपी ओलीले एक्कासि नभइ दुई अढाइ वर्षको डिजाइनले संविधानलाई धरापमा पार्ने काम गरेको बताए । ओली निरंकुश हुनुमा उनीमात्र नभइ उनका आसपासका मान्छे पनि उत्तिकै दोषी भएको बताए ।

उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई इंगित गर्दै उनले प्रदेशको जिम्मेवारी छोडेर प्रधानमन्त्रीलाई उक्साउन र गलत कदम उठाउन सघाएको टिप्पणी गरे । ‘तपाईंको मुख्यमन्त्री प्रधानमन्त्रीको फोटोकपी जस्तै लाग्छ । यत्रो प्रदेशको जिम्मेवारी छ । प्रदेशका बारेमा सोधे उत्तर छैन । प्रदेशको काम छोडेर काठमाडौंमा जुहारी खेल्न जानुभएको छ ।’ उनले भने ।

नेता थापाले देश चाडै निर्वाचनमा जाने भएकाले कोही अलमलिनु नपर्ने बताए । प्रधानमन्त्री ओलीले घोषणा गरेको बाटोबाट नभइ संसद् पुन:स्थापना भएपछि मात्रै निर्वाचन हुने दाबी गरे ।