कांग्रेसका शीर्ष नेता नेविसंघका उत्पादन,काे कहिले अध्यक्ष बने?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ कार्तिक ।

२०२७ बैशाख ६ गते स्वयम्भूको सतलमा नेता कृष्णप्रसाद भट्टराईले नेविसंघकाे पहिलो महाधिवेशन उद्घाटन गरेका थिए। बिपिन कोइराला संस्थापक सभापति बने। मार्सलजुलुम शाक्यलाई कोइरालाले एक मतले पराजित गरेका थिए।

पञ्चायती व्यवस्था विरुद्ध कार्य गरेको आरोपमा कोइरालालाई तत्कालीन सरकारले पक्रेर जेल पठायो। उनी तीन वर्ष जेल बसे। जेलमा रहेकै समय उनकै निर्देशनमा दोश्रो अधिवेशन भयो। हालका सभापति शेर बहादुर देउवा तत्कालीन समयमा नेविसंघ सभापति बने। कोइराला जेल परेपछि उनको कार्यकाल नसकिँदै २०२८ भाद्रमा दोश्रो अधिवेशन भएको थियो।

२०३६ सालको फागुनसम्म देउवाले पद छोडेनन्। दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका देउवा ८ वर्षसम्म पदमा रहे। राजनीतिक व्यवस्थाका कारण समयमै तेश्रो महाधिवेशन गरी पद हस्तान्तरण गर्न नसकिएको देउवाको जिकिर थियो। संस्थापक नेता कोइराला भन्छन्, ‘प्रतिकुल समयमा संगठन बनेको हो। अलि अलि धरपकड त हुन्थ्यो। म जेल बसेरै दोश्रो महाधिवेशन गराएको हुँ। देउवाले महाधिवेशन गराउन चाहनुभएन।’

२०३६ सालमा जनमत संग्रहको अवसर पारेर तेश्रो महाधिवेशन जनकपुरमा भएको थियो। २०३६ साल फागुनमा भएको तेश्रो महाधिवेशनबाट हालका उपसभापति विमलेन्द्र निधि सभापति बने।

२०३६ पछि नेविसंघमा सभापति बनाउँदा ‘टिके प्रथा’ सुरु गरियो। बिपीबाट नै नेविसंघमा टिकेप्रथा सुरु गरेको संघका संस्थापक सभापति कोइरालाको दाबी छ। उनले भने, ‘बीपीले नै विमलेन्द्र निधिलाई पहिलो टिके सभापति बनाउनु भएको हो।’

महेन्द्रनारायण निधिको छोरा हुनु र मधेसको ‘सेन्टिमेन्ट क्याच’ गर्नलाई बिपीले विमलेन्द्र निधिलाई सभापति तोकेको हुनसक्ने नेविसंघका पूर्व सभापति प्रदीप पौडेलको आंकलन छ। चौथो, पाचौं, छैठो सभापति पनि निधिकै बाटोबाट नेताहरुबाट मनोनित भए।

२०३९ को असारबाट चौथो सभापति बनेका ज्ञानेन्द्र बहादुर कार्की, २०४० को चैतमा पाँचौ सभापति बनेका बल बहादुर केसी र २०४४ पुसमा सभापति बनेका बालकृष्ण खाँड ‘टिके सभापति’ हुन्।

२०४४ सालमा छैठौं महाधिवेशन हुँदै गर्दा प्रशासनको हस्तक्षेप पछि खाँडलाई मनोनयन गरिएको थियो। निधिलाई बिपीले ‘टिके’ सभापति बनाए भने कार्की, केसी र खाँडलाई तत्कालीन नेता गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले आपसी सल्लाहमा बिना महाधिवेशन जिम्मेवारी दिए।

पञ्चायतकालमा मात्रै ३ महाधिवेशन भए। नेतृत्व हस्तान्तरण गर्ने क्रममा अन्यलाई बिना महाधिवेसन जिम्मेवारी सुम्पिएको थियो।

सातौं सभापति एनपी साउद २०४८ असोजमा सभापति बने। उनी निर्वाचित सभापति भए। उनीपछि पुनः टिके प्रथा सुरु भयो। आठौं र नवौं सभापति पनि नेताहरुले मनोनित गरे। २०५२ जेठमा आठौं सभापति बनेका धनराज गुरुङ र २०५३ पुसमा नवौं सभापति बनेका गोविन्द भट्टराई पनि मनोनित सभापति हुन्। साउदले २०५१ मा गर्न लागेको महाधिवेशन बिथोलिएको थियो। महाधिवेशन प्रतिनिधि विवादले आठौं महाधिवेसन हुन नसकेपछि २०५२ मा गुरुङ मनोनित सभापति बनेका थिए।

अहिले पार्टी प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्मा संघको दशौं सभापति बने। शर्मा २०५७ माघमा सभापतिमा निर्वाचित भएका थिए। एघारौं र बाह्रौ क्रमशः गुरुराज घिमिरे र प्रदीप पौडेल निर्वाचित सभापति बने।

किशोरसिंह राठोर, महेन्द्र शर्मा, केशव सिंह र रञ्जीत कर्ण महाधिवेशनमार्फत नभई मनोनितको बाटोबाट संघको प्रमुखको भुमिकामा पुगे। निर्वतमान सभापति नैनसिंह महर ११ औं महाधिवेशनबाट चुनिँदै गर्दा महाविधेशन भनिए पनि पार्टीका गुटलाई पदाधिकारी भागबण्डा गरिएको थियो। पार्टी फुटपछि देउवा निकट नेविसंघकाे सभापतिमा कल्याण गुरुङ २०६४ मा निर्वाचित भएका थिए।

४९ वर्षको इतिहास बोकेको नेविसंघमा हालसम्म १८ सभापति बनेका छन्। तीमध्ये सात सभापति तदर्थ समितिबाट छानिएका छन्।

‘पार्टीले निर्वाचन गर्नै दबाब दिए कसैले पनि म्यानुपुलेट गर्न सक्दैन’, पूर्व अध्यक्ष पौडेल भन्छन्, ‘नेविसंघको हकमा बढी म्यानुपुलेसन हुँदै आएको छ। प्रक्रियागत रुपमा नेतृत्वले महाधिवेशन हुन दिए नियमित महाधिवेशन हुन्छ।’

पार्टी प्रवक्ता रहेका विश्वप्रकाश शर्मा मात्रै एक सभापति हुन् जसले निर्वाचित भएको दुई वर्षे कार्यकालभित्रै महाधिवेशन गरी नेतृत्व सुम्पेका थिए। ०५७ साल माघमा आठौँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शर्माले ०५९ सालको माघमा नवौँ महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए।

संस्थापक सभापति कोइराला सुशील कोइरालाको समयबाट संघलाई तदर्थवादमा सञ्चालन गर्न लागिएको बताउँछन्। उनी भन्छन्, ‘सुशीलको गलतको कार्यलाई देउवाले विरासतको रुपमा थामे।’

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...