भारतले बन्द गर्‍यो आज बिहानैदेखि नेपालगञ्ज नाका, यस्तो छ कारण

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ कार्तिक ।

भारतले आज बिहानैदेखि नेपालगञ्ज नाका बन्द गरेको छ । भारतको सुप्रिमकोर्टले आज अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील गरेका हुन् ।

भारतले नाका सील गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जानकारी दिइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नाका बन्द गरेको बारेमा औपचारिक रुपमा जानकारी नआएको बताउनुभयो ।

भारतीय प्रहरीले ‘सुरक्षाको दृष्टिकोण’ ले एक्कासी नाका सील गर्नु परेको बताएको छ । बाँके प्रहरीका प्रवक्ता शिवबहादुर सिंहले भारतीय अधिकारीहरुले बिहानमात्रै नाका सील गरेको बारेमा जानकारी दिएको बताउनुभयो ।

भारतीय प्रहरीले नेपालबाट कोहीलाई पनि प्रवेश गर्न दिएका छैनन् । बिरामी बोकेका एम्बुलेन्सलाई मात्रै जान दिएका छन् । भारतबाट नेपालतर्फ आउन भने दिइएको छ । बिहान एक्कासी नाका बन्द गरिएपछि नाकामा पुगेका नेपालीहरु अलपत्र भएका थिए ।

भारततिर जान थालेका नेपाली नाकामा रोकिएका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...