पवित्र धार्मिकस्थल हलेसी महादेवबारे तपाईलाई थाहा नभएको अचम्मको तथ्यहरु यस्तो छ

हाम्रो सन्देश संवाददाता

नेपालको राजधानी काठमाण्डुदेखि करिब ३०० किलोमिटर टाढा पूर्वी पहाडी जिल्ला खोटाङमा रहेको पवित्र धार्मिकस्थल हलेसी महादेवस्थान पुग्दा जो कोहीलाई पनि आफू कुन संसारमा आइपुगेको हो जस्तो आश्चर्यजनक अनुभूति हुन्छ ।

उच्च पहाडमा भ्वाङ बनाएर विराजमान भगवान् शङ्कर र अन्य देवीदेवताको अवस्थितिले सबैलाई अचम्भित बनाइदिन्छ ।हलेसी गुफालाई अर्ध चन्द्राकार गरी घेरेर खोटाङ र ओखलढुङ्गाको सिमाना हुँदै बगेकी दूधकोसी नदी महापुराणमा उल्लिखित कौशिकी नदीको एक हुने ।

दूधकोसीको पवित्र जलमा स्नान गरेर हलेसीको दर्शन गर्नाले यस लोकमा सुख, समृद्धि पाई परलोकमा मुक्तिसमेत प्राप्त हुन्छ भन्ने भनाइ छ । स्थानीयवासीका भनाइअनुसार उहिले सत्ययुगमा हलेसी मन्दिर वरिपरि जङ्गल रहेकाले त्यहाँ बाघ, भालु, घोरल, मृग, जरायो, कालिज, तित्रा इत्यादि पशुपक्षी प्रशस्त मात्रामा पाइने र त्यस जङ्गलमा त्यसै गाउँका स्थानीयवासी किराँत जातका मानिसले नै सिकार गर्ने र जीवजन्तु मार्ने काम गर्दथे ।

भनिन्छ, जहाँ भगवान् शङ्कर तथा देवीदेवता रहेको गुफा लहराले जेलिएको अवस्थामा थियो त्यहाँ गुफा छ भन्ने कुरा कसैलाई थाहा थिएन ।कथाअनुसार कुनै एक समयमा एकजना किराँती सिकारी सिकार खेल्दै जाँदा सो सिकारीको प्रहारबाट घाइते भएको मृग लडेर शिवजीको गुफाभित्र खसेछ ।

सो मृग लिन जाँदा अँध्यारो गुफाभित्र बत्तीजस्तो चम्किलो ज्योति सिकारीले देखेपछि सिकारी आँखा तिर्मिराएर बेहोस हुन पुगेछ । उक्त बेहोस सिकारीलाई भगवान् शङ्करले दर्शन दिनु भई त्यस गुफाभित्र अन्य देवीदेवताको पनि उत्पत्ति भएछ र सो सिकारीले मन्दिर आसपासमा हत्या–हिंसा नगर्नु भनी चेतावनी दिए भन्ने भनाइ छ ।

हलेसी मन्दिरमा विशेषगरी महाशिवरात्रि, रामनवमी र बालाचतुर्दशीका पर्वमा मन्दिरमा विशेष पूजा गरिनुका साथै शिव, पार्वती र गणेशलाई वस्त्र तथा गहना पहि¥याइन्छ । यसबाहेक पनि हरेक सोमबार तथा साउन महिनाभरि पनि पूजा गरिन्छ ।

यहाँ दुईवटा गुफा छन्, ती मध्ये वसाहको गुफामा वृकासुरबाट बच्न आफू भाग्नका लागि भगवान् शङ्करले पहाडको फेदबाट प्वाल पारेर आफू सँगैको बसाहलाई त्यहीँ छाडी भित्र पसेर आफू पहाडको टुप्पोतिर निस्कँदा बनेको भन्ने भनाई छ ।

यसरी निस्कँदा गुफाको भित्तामा टेकेर निस्कनु भएको मानिएको भगवान्को एक पाइलाको छाप अहिले पनि हामीले हेर्दा प्रस्टरूपमा देख्ने गर्दछौँ ।

यो गुफाको प्रवेशद्वारमा भगवान्को बसाहको मूर्ति छ तथा गुफाभित्र पस्ने बित्तिकै देबे्रपट्टि भित्तामा स्वनिर्मित शङ्ख छ, जुन शङ्ख बजाउँदा बज्दछ, शङ्खसँगै केही भित्रपट्टि स्वर्गद्वार रहेको छ ।

यही गुफाको माथिल्लो सिलिङमा गाईको थुन बनेका छन् जहाँबाट दूध आउँछ भन्ने विश्वासका साथ भक्तजन गाईको थुनमा हात राखेर दूध देऊ माई भन्दै पुकार गर्दछन् ।भाग्यमानीको हातमा दूधका थोपा झर्दछ भन्ने जनविश्वास छ ।

बसाहस्थलदेखि करिब १०० मिटर पर एकदमै निर्मल जलको मुहान छ, जुन जल भगवान् शङ्करको पाउबाट आएको भन्ने भनाइ छ । शिवजीको गुफा भगवान् शङ्कर बसाहको गुफाबाट माथि निस्केपछि सोही पहाडमा अर्को एउटा खाल्डो परेर आफूभित्र पसेर बस्नुभएको गुुफा नै शिवजीको गुफा हो ।

यसै गुफाभित्र प्रवेश गर्ने द्वारलाई नै मूल प्रवेशद्वार मानिन्छ । मूल प्रवेशद्वारको दायाँपट्टि गणेशजीको मन्दिर छ भने बायाँपट्टि मारतीका गुम्बा निर्माण गरिएको छ ।

प्रवेशद्वारबाट प्रवेश गरिसकेपछि गुफाको भित्री भाग ढुङ्गाको सिँढीबाट करिब २०० मिटर तल गुफामा पूर्वपट्टी फर्केर भगवान् शङ्कर विराजमान हुनुभएको देखिन्छ भने पूर्वपट्टी उहाँकै सम्मुखमा केही उचाईमा पार्वतीमाताको स्थान देखिन्छ ।

अग्रभागमा वीरभद्र, महाकाली आदि द्वारपाल छन् भने भगवान् शिवको दायाँबायाँ भएर जन्मद्वार, कर्मद्वार, धर्मद्वार र पापद्वार रहेका छन् । यी द्वारको दर्शन गरी प्रवेश गरेर पार हुन सकेमा हरेक द्वारका आ–आफ्नै प्रकारको फल पाइने विश्वास गरिन्छ ।

हलेसी मन्दिर वरिपरि चार भञ्ज्याङ परेर बीचमा उठेको पर्वतमा अवस्थित प्रकृतिको मनोरम दृश्यले गुफा र मन्दिरमा सदा सर्वदा यहीँ बसिरहुँ हेरी रहँुजस्तो अनुभूति हुन्छ ।

तत्कालीन राजामहाराजाले पूजाका लागि ब्राह्मण राख्नुपर्ने भन्दै गिरी थरका एकजना ज्योतिषीलाई सोही मन्दिरको पूजाआजा तथा रेखदेख गर्नु भनी जिम्मा लगाएर सोही ज्योतिषीका परिवार गोपाल गिरीले हाल पूजाआजा गर्दैै आउनुभएको छ । २०६२ साल मङ्सिर १ गतेदेखि सर्वपक्षीय समिति निर्माण गरेर मन्दिरमा चढाएको भेटीलाई व्यवस्थित गर्न थालिएको छ ।

श्रीमद्भागवत महापुराणको दशम स्कन्दको अठासिआँँ अध्यायमा यसबारेमा वर्णन गरिएको छ । एक पटकको कुरा हो शकुनीको छोरा वृकासुरले तपस्या गर्ने विचार गरी जाँदै गर्दा नारद ऋषिलाई भेटे र ब्रह्मा, विष्णु र महेश्वरमध्ये सबैभन्दा छिटो प्रसन्न हुने देवता कुन हुन् भनेर सोधे ।

नारदजीले भने, ‘भगवान् शङ्कर नै अरूभन्दा छिट्टै प्रशन्न हुनुहुन्छ तसर्थ उहाँको नै उपासना गर ।’दिनहँुु ठूलो आगो बालेर आगोपट्टि निहुरिएर शिरै होम्ने जस्तो गरी कठिन तपस्या गर्दै जाँदा ६ दिन बित्यो तै पनि वृकासुरले दर्शन पाएनन् । पुनः साताँै दिन पनि तपस्या गर्न लागे । यसरी आफ्नो खिन्नता देखेर भगवान् शङ्कर प्रकट हुनुभयो ।

वृकासुरले सबै देवतालाई नास गर्ने उपायसहित वरदान मागे । त्यसैबेला उनलाई जगतमाता पार्वतीको सम्झना आयो र सोच्न लागे कि यति राम्री पत्नि पाए त कति आनन्द हुन्थ्यो होला । यसमा मलाई बाधा गर्ने पनि त यिनै शिवजी नै हुन् भनी कुभलो चिताए ।

यसरी शंकर भगवान्लाई नै नाश गर्न लखेट्न लाग्दा भगवानसँग भाग्नु शिवाय केही उपाय पनि रहेन । भगवान् भाग्दै जानुभो, वृकासुर पनि हात उठाएर लखेट्दै लखेट्दै गए ।

सारा संसार विश्व ब्रह्माण्ड घुम्दा पनि वृकासुरबाट बच्ने ठाउँ कतै नभेटिएपछि भाग्ने क्रममा उत्तर दिशा हुँदै हिमवत्खण्डतिर लाग्नुभयो । भगवान् थाकिसक्नुभएको र वृकासुर पनि थाकेको भएपनि भगवान्लाई लखेट्दै थियो । यसरी भगवान् नेपालको पूर्वीपहाडी जिल्ला खोेटाङको यस स्थानमा आइपुग्नुभयो भन्ने भनाई पाइन्छ ।

वृकासुरलाई राखेर पहाडमा प्वाल पारी आफू भित्र प्रवेश गर्नुभयो र माथितिर निस्कँदा वृकासुर माथितिर जान्छ भनेर आफू त्यहीँ पहाडमा अर्को खाल्डो पारेर तलतिर भित्र पसेर बस्नुभयो । खाल्डोको मुखमा माकुराको जालो लगाई दिनुभयो तथा लहराले जेली दिनुभयो ।

यो दृश्य हेरिरहेका देवीदेवता सब त्राही, त्राही नारायण, नारायण भन्दै भगवान् शङ्करलाई बचाउने कुनै उपाय निकाल्न श्री विष्णु भगवानसँग बिन्ती गरे ।भगवान् विष्णुले पनि तुरुन्त एउटा साधुको रुपधारण गरे सोही पहाडको फेदमा पाल्नुभयो जहाँ वृकासुर पनि थकित अवस्थामा स्वाँ स्वाँ गर्दै आइपुग्यो ।

वृकासुरले साधुरुपी श्री विष्णुलाई देख्न नपाउँदै विष्णुले वृकासुरलाई बोलाउँदै भन्नुभयो, “ए शकुनीका छोरा वृकासुरजी तपार्इं यस्तो थकित अवस्थामा यति टाढा यस्तो विकट ठाउँमा किन आउनुभयो, एकछिन विश्राम गर्नुहोस् ।”

विष्णु भगवान्का यस्ता अमृतमय वचन सुन्नासाथ वृकासुरको थकाइ मरेर गयो । उनले सारा वृत्तान्त श्री विष्णुलाई सुनाए । शिवजीलाई जसरी पनि भेट्नुपर्ने कुरा सुनेपछि विष्णुले भन्नुभयो–“वृकासुरजी तपाईंलाई महादेवले झुक्याएछन् किनकि दक्षप्रजापतिको श्राप परेपछि उनले पिसाचवृत्तिलाई ग्रहण गरेर भूतप्रेतको सम्राट भएका छन् । यस्तो अवस्थामा उनको कुनै शक्ति छैन, न त उनले दिएको वरदान नै पुग्छ न त श्राप नै लाग्छ तसर्थ उनको कुरामा पत्यार नगर ।”

भगवान् विष्णुको यस कुराबाट उनले यसको परीक्षण गर्न चाहे र आफ्नै टाउकामा हात राख्दा तत्कालै भष्म भए । यसरी भष्म भएर मरेकाले वृकासुरलाई भस्मासुर पनि भनिएको पाइन्छ ।यस्तो दृश्य हेरिरहेका सम्पूर्ण देवीदेवता आकासबाट पृष्पवृष्टि गर्दै जयजयकारका साथ त्यहीँ आइपुगे ।

विष्णु पनि साधुरुप त्यागेर आफ्नो चतुर्वाह स्वरूपमा प्रकट हुनुभयो । पार्वती पनि आएर शिवजीकै समीपमा बस्नुभयो । गणेशजी पनि द्वारमा आएर बस्नुभयो भन्ने कहावत पाइन्छ ।

यस ठाउँमा हाल आएर खोटाङकै स्थानीयवासी श्री मीनबहादुर गुरुङले गणेशजीको अत्यन्त राम्रो मन्दिर निर्माण गरिदिनुभएको स्थानीयवासीले बताउँछन् । भगवान् शङ्करको मन्दिर हलेसीधाम आज पनि पूर्वको पशुपतिनाथको रूपमा सुप्रशिद्व रहेको र हजारौँ भक्तजनलाई आकर्षित गरिरहेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...