पत्रकार महिलाको दर्दनाक पीडा

हाम्रो सन्देश संवाददाता

राधा शर्मा ।

फूलको जीवन काँडा बनाउनेका नाममा कुनै पनि उपन्यास लेखक अथवा चलचित्र निर्माताले समेत परिकल्पना गर्न नसकेको मेरो जीवनको भोगाइ । एकै निमेशमा जीवन उचालियो, पछारियो फेरि बौरिँदै छ । अरू सामान्य केटीजस्तै घर, आमा–बाबाको काख, जागिर, समाजको साथ, साथीभाइको मायामा रमाइरहेको शानको जिन्दगीमा न आगो लाग्न बेर लाग्यो न खरानी बन्न । धन्नै अहिले कसरी कसरी बौरिँदै छु । केही महिनाअघि मात्र नेपाल र भारतको अस्पतालका बेडमा पल्टिएका मुडुला र ख्याउटिएका तस्बिर हेर्छु । वर्षपहिलेका अरू तस्बिर हेर्छु र अहिलेको आफंैलाई नियाल्छु । म यस्तो कहाँ थिएँ, पुरुषको नाममा पापिष्ट कंशसँग कताबाट कसरी श्रीमान्को साइनो जोडियो । भगवानले पनि दुःख पाएकैलाई अझै चोट थपिदिने रैछन् । शायद सहने क्षमता जाँचेका होलान् । आज यही लेखबाट मेरो फूलजस्तो जीवन कसरी निचोरियो सबैलाई सुनाउँछु ।

०४८ साल फाल्गुन ९ गते शुक्रबारका दिन नवलपरासीको शिव मन्दिर गाविस वडा नम्बर ९, हालको कावासोती नगरपालिका ४ छिपछिपेमा दुई छोरी पछि कान्छी छोरीको रूपमा मेरो जन्म भयो । म ३ वर्षको हुँदा भाइको जन्म भयो । हजुरबुबा, हजुरआमा नै शिक्षित मेरो परिवारमा शिक्षादीक्षामा कुनै कमी भएन । बाबा र अंकल सामाजिक काममा बढी सक्रिय भएका कारण सानैदेखि सामाजिक काममै लाग्ने हुटहुटी चल्थ्यो । हुर्किंदै गएपछि आफ्नै उमेरका साथीहरू कोही पढाइ छोडेर घरगोठालोमा लागे, कोही बिहे गरेर गए । साथीहरूको सानैमा बिहे भएको कुराले पिरोल्थ्यो । आफू केही न केही सामाजिक काममा जोडिन पाए हुन्थ्यो, महिला समस्याबारे काम गर्न र चेतना बढाउने खालका कार्यक्रम गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।

१९ वर्षको उमेरमा २०६७ सालदेखि स्थानीय रेडियो सामुदायिक रेडियो मध्यविन्दु एफएममा काम गर्ने अवसर पाएँ । सामान्य कार्यक्रम चलाउन थालेकी मैले विस्तारै महिलाका विषयमा बहस र प्रेरणाका कथा खोज्नतिर हात हालें । विस्तारै समाचारका लागि विभिन्न कार्यक्रममा जाने, रिपोर्ट बनाउने, समाचार लेख्ने गर्दा गर्दै समाचार वाचनमा लागें । सामाजिक रूपमा पनि सक्रिय हुन थालें । समात्ने हाँगो भएपछि मान्छे जस्तै पहाड पनि चढ्न सक्छ । म रेडियोलाई हाँगो बनाएर समाजमा महिलामाथि हुने हिंसाविरुद्ध, श्रीमान्पीडित महिलाको उद्धार र श्रीमान्लाई सामाजिक कारबाही गराउनेसम्मका काममा सक्रिय हुन थालें । गाउँमा नै देख्थें कति महिला श्रीमान् र घरपरिवारले बेवास्ता गरेका कारण एक्लिएर र पीडामा बाँचिरहेका थिए । उनीहरूको उद्धारका लागि स्थानीय प्रशासन, राजनीतिक दल, सामाजिक अभियन्ताहरूलाई घटनास्थलसम्म पु¥याएर न्याय दिने अभियानमा हुन्थें म ।

मैले गर्दा कति चेलीले न्याय पाए भनेर दंग म अहिले आफैं न्याय नपाएर छट्पटाएकी छु । ०७४ सालको कुरा हो, बिहेको कुरा चल्यो । म विवाह गर्ने मनस्थितिमै थिइनँ । तर, घरपरिवार, बाबा–आमा सबैको कुरा सुनें । सहकारीको व्यवस्थापकबाट प्रस्ताव आएको थियो । सहकारी आफैंँमा एउटा सामाजिक संस्था, त्यहाँ काम गर्ने मान्छे बुझ्ने खालको होला भनेर स्वीकृति दिएँ । केटापक्षको जोडबल थियो, जतिसक्दो छिटो बिहे गर्ने । आमा–बाबाको खुशीमा म किन दुःखी हुन्थें र ? उहाँहरूले नबुझी मेरो बिहे गरिदिन खोज्नुभएको पनि त हैन भन्ने ठानें । कावासोतीकै उनीहरू पनि । ०७४ फागुन २९ गते केटापक्ष हेर्न आउने कुरा थियो, मेरो मनमा सकेसम्म उसले नै केटी मन नपराओस् भन्ने थियो । तर ‘हुने हार, दैव नटार’ भनेजस्तो भयो । २९ गते दिनभर केटापक्ष कतिबेला आउँछन् भन्ने भयो । राति ९ बजेपछि मात्र आए । कुराकानी भयो । सामाजिक काम गर्ने केटी नै खोजेको हो मैले भनेपछि ढुक्क भएँ । बिहेपछि पनि राम्रै हुन्छ भनेर आफूले रेडियोमा काम नछाड्ने बताएँ । ऊ मेरा हरेक कुरामा राजी भयो । मैले दाइजो केही पनि नलैजाने कुरा गरें । ऊ खुशी भयो ।

उसका कुरा सुन्दा मलाई आफू भाग्यमानी भएजस्तो लाग्यो । सबै कुरा जानेको–बुझेको महिला भनेर नराम्रो नसोच्ने । हरेक इच्छामा सहमति जनाउने । म विवाहका लागि राजी भएँ । भोलिपल्ट नै बिहे गर्ने निर्णय भयो । अर्को महिना चैत भएकाले मसान्तअघि नै सक्ने भनेर ३० गते मन्दिरबाट बिहे गर्ने तय भयो ।

न कोही साथीभाइ, न त राम्रो तयारी, हतार हतारमा बिहे गरें । तर बेहुली भएर गएको रातमै छाँगाबाट खसें । घरभित्र छिर्दै गर्दा नयाँ–नयाँ सामान देखिए । खासमा अघिल्लो रात मसँग दाइजो नलिने कुरा गरेका उनीहरूले मेरो बाबा र हजुरबुबासँग जबर्जस्ती दाइजो मागेका रहेछन् । एकै दिनमा घरपरिवारले यत्रो दाइजोको जोहो गर्दासम्म बेखबर भएकोमा मलाई आफैंप्रति दया लागेर आयो । जे त भयो भन्ने सोचें । अर्को पटक मेरो शरीरमा करेन्ट लगाएको महसुस भयो । जतिबेला सर्वस्व सुम्पेर श्रीमान् भनी गएको मान्छेले कोठा छिर्नासाथ श्रीमान्को बोली सुनें । अघिल्लो दिन यति मीठो कुरा गरेर विवाहका लागि राजी भएको मान्छेले बिहे गरेकै रात ‘मैले मेरो लागि होइन, परिवारको लागि गरेको हो, त्यसैले तँ आफ्नो सुर गर्’ भन्यो ।

सपनामा छु कि जस्तो लाग्यो । औडाहा भयो, एकैपटक कानमा तिखो वस्तुले रोपेझैँ भयो । शरीर आफ्नो होइन कि जस्तो, म कहाँ छु भन्ने भयो । रात कसरी बित्यो, पत्तो भएन ।

बिहेको भोलिपल्ट चैत १ गते । राति त्यस्तो भनेको मान्छे हाँसीखुशी भोजको तयारीमा थियो । हतारहतार बिहे गरे पनि भोज भने भव्य थियो । बिहेभोज र अरू आफन्तका सामुन्नेको व्यवहार अनि रातिको कटुवचनको तुलना गर्न बाध्य बनायो । कहिलेकाहीँ परिस्थितिले बाँधेको हुन्छ, हिजो केही कुरामा चित्त नबुझेर त्यस्तो भनेको होला अब ठीक भइहाल्छ, राम्रो होला भन्ने सोचें ।

घर कावासोती भए पनि उसको जागीर काठमाडौं थियो । भोज सकिएलगत्तै मलाई पनि काठमाडौं लिएर आयो । लगनमा कोठा थियो । काम गर्ने हनुमानढोका बहुउद्देश्यीय सहकारी, न्युरोडको पशुपति प्लाजामा । भर्खर बिहे गरेर ल्याएकी श्रीमतीलाई कोठामा राखेर ऊ दिनभर अफिसको काममा हुन्थ्यो । अफिसबाहेकको समय पनि मलाई दिएन । बिहानै निस्कने र राति अबेर मात्र आउने । बिदाको दिन कहिल्यै कोठामा बसेन । न त मलाई कतै घुमाउन लैजान्थ्यो । कोठाको बसाइ जेलभन्दा कम थिएन । जेलमा त बरु शारीरिक यातना हुँदैनथ्यो कि, रातमा शारीरिक यातना र दिनभर मानसिक यातना । बिहेपछिको रंगीन अनुभव यही हो । कोठामा एक्लै छाडेर बाहिर निस्कने ऊ साथीहरूसहित आउँथ्यो । उसका साथीहरू मलाई हेरेर व्यंग्य गर्दै भन्थे, ‘पत्रकारलाई बिहे गरिस्, फसिन्छ, पत्रकारलाई खासमा टाढै राख्नुपर्ने, तैँले त घरमै ल्याइछस् ।’ साथीका कुराको प्रतिकार गरेर संरक्षण गर्नुपर्ने श्रीमान्् उल्टै हाँसेर साथ दिन्थ्यो । यस्ता साथीहरूलाई प्रायः कोठामा ल्याउँथ्यो ।

बिहेको केही समयपछि नै उसले काठमाडौंको कलंकी, खड्का टोलमा घर किन्यो । कावासोती रहेका मेरा सासूससुरा नयाँ घर किनेपछि काठमाडौं आउनुभयो । म नयाँ घरमा नयाँ बेहुली थिएँ, यतिन्जेलसम्म श्रीमान्बाट पाउने माया कस्तो हुन्छ, थाहा थिएन । बिहेअघि माइतीमा घर, समाज अफिस सबैतिर भ्याएकी म, काठमाडौंमा थन्किएकी थिएँ । बिहान–बेलुका खाना बनाएर खुवाउँदा कहिल्यै पनि श्रीमान्ले मिठो भयो भनेको सुनिनँ । खानाको बहानामा ऊ मलाई कराउँथ्यो, पिट्थ्यो, घरबाट निस्केर जा भन्थ्यो । बिहे गरेर आएको महिना दिन नहुँदै निस्केर कहाँ जानु ? सयौं पटक सोधें, ‘मेरो दोष के ? किन यस्तो गरेको ?’ उसको एउटै जवाफ हुन्थ्यो, जुन सुहागरातका दिन पाएकी थिएँ । मन नपरेकै भए किन बिहे गरेको, अघिल्लो दिन नै मन छैन भनेको भए आफैंँ कुरा टार्न सक्थें भनेर फकाउन खोज्थें । तर हार्थें म, हुँदाहुँदै उसले अरूसँगै लभ छ भन्न थाल्यो । मसँग हरेक रात झगडा हुन थाल्यो । हरेक रात कुटाई खान थालें । अरू नै मन परेको भए पनि बिहे गर्नुस्, मिलेर बस्न तयार छु भन्थें । मसँग यति निरीह हुुनुबाहेक अरू विकल्प थिएन ।

श्रीमान्को यातना दिनहुँ बढ्न थालेपछि अन्ततः घरपरिवारमै कुरा गर्ने सोचें । श्रीमान्सहित सासू, ससुरा, दुई जना जेठाजु, देवर, भाञ्जा, भतिजा सबैलाई राखेर सल्लाह गर्न खोजें । सबैका अगाडि उसले गर्ने व्यवहार सुनाउँदा सबैको साथ पाउँछु भन्ने सोचेकी थिएँ । तर, आमासमान सासूले सानातिना कुरामा नबोल भन्न थाल्नुभयो । श्रीमान् भनाउँदोले सबैका अगाडि म ऊसँग बस्न सक्दिनँ मात्र भन्यो । किन बस्न सक्दिनँ कारण भनेन । एक बिहानको सल्लाह बालुवामा पानी हालेसरह भयो । बिहेअघि म मेरोजस्तो नियती भोगेकाहरूको न्यायका लागि आवाज उठाउँथें । उनीहरूका लागि लड्थें । अहिले आफैंँमाथि परेको बज्रपात सहन नसक्ने अवस्थामा पुगिसकेकी थिएँ । यतिञ्जेलसम्म मैले यो कुरा माइतीतर्फ कसैलाई भनेकी थिइनँ । माइतीले बोलाउँदा पनि भेट्न गएकी थिइनँ । बिहेपछि दुलन फर्काउन जान पनि मानेको थिएन ।

माइतीतिरबाट आमा, बाबा, भाइ, ज्वाइँ, भिनाजुसँग बोल्न खोज्थे, फोन देऊ भन्थे । हरेक दिन नयाँ–नयाँ बहाना झिकेर कहिले व्यस्त भएको, कहिले घरमा नभएको, कहिले बाथरुम गएको भन्दै टार्थें ।

बिहे भएको ठ्याक्कै २ महिना पूरा भयो । वैशाख ३० गते । हरेक रातझैं ऊ मलाई कुट्न थाल्यो । यसपटक लात्ती मेरो छातीमा बजारियो । सास रोकिएलाजस्तो भयो । मूच्र्छा परें । छातीमा असैह्य पीडा भयो । त्यही दिन मर्न भनेर सल घाँटीमा लगाएँ । अरूलाई मर्न हुँदैन, लड्नुपर्छ भनेर सिकाउने म जीवनदेखि नै हारेकी थिएँ । मर्नका लागि घाँटीमा सलको पासो लगाएँ । आफूभन्दा ३ वर्ष कान्छो भाइको अनुहार झल्झली आयो । मर्नु नै छ, एकपटक भाइको आवाज सुनेर मर्छु भनी फोन लगाएँ । मध्यराति फोन गरेकी म रोएर बोल्न सकिनँ । भाइ फोनमा रुँदै के भो भनेर सोध्न थाल्यो । अरू कसैलाई नसुनाएकी मैले भाइलाई आमा–बाबा कसैलाई नभन्ने वाचा गराएर सबै घटना भनें । मर्न आँटेकी म भाइलाई कुरा सुनाएपछि मर्न सकिनँ । भोलिपल्टसम्म छातीको दुखाइ कम भएन । भाइ मलाई भेट्न घरै आयो । उसलाई मैले कसैलाई नभन्ने वाचा गराएर फर्काएँ ।

श्रीमान् र घरपरिवारलाई अस्पताल जान भनेर कति हारगुहार गरें । कसैले नमानेपछि आफंै दिदी रेनुले काम गर्ने कान्तिपुर डेन्टल कलेज एण्ड जनरल हस्पिटलमा गएँ । मेरो स्तनमाथि डल्ला परेको रहेछ । अस्पतालले सामान्य भएको र शल्यक्रिया गरेर फाल्ने भनेबमोजिम सासूससुरासँग कुरा गरेर कावासोतीबाट बाबालाई बोलायौं । भाइले मेरो अवस्था पहिले नै भिनाजुलाई भनिसकेको रहेछ, भिनाजुले बाबालाई । जेठ १३ गते सोही अस्पतालमा शल्यक्रिया गरियो । शल्यक्रियापछि पनि श्रीमान्को राम्रो बोली पाइनँ । उसले मर्, बरु किरिया गर्छु भन्थ्यो । यो सबै किन भइरहेको छ, मेरो दोष के हो, बुझ्न सकेकी थिइनँ । शल्यक्रियापछि बाबा मलाई घरमा छोडर कावासोती फर्कनुभयो । घरमा आएपछि मलाई सासू र श्रीमान्ले वास्ता नगरे पनि ससुराले खाना–पानी सोध्नुहुन्थ्यो । कोठामा एक्लै छोडेर श्रीमान् कहाँ कोसँग हुन्थे मलाई थाहा थिएन । अपरेसनको केही दिन मात्र भएको थियो । राति कोठामा एक्लै थिएँ । हिँडडुल गर्न नसक्ने । राति तिर्खा लागेर पानी खोजेँ, पाइनँ । घरमा सबैलाई बोलाउँदा कोही बोलेनन् । फोन गरें सबैलाई, कसैले उठाएनन् । म पानी नपाउँदा घाँटी सुकेर छट्पटिएकी थिएँ । त्यो रात त्यसै काटेर भोलिपल्ट माइतीमा फोन गरेँ । बिरामी छोरीको अवस्था थाहा पाएपछि कुन बाबुले सहन सक्थे र ? बाबा तत्काल भिनाजुसहित आएर कावासोती लैजाने कुरा भयो । त्यसदिन मेरो शल्यक्रियाको रिपोर्ट आएको रहेछ । रिपोर्ट हेरेर बाबा, श्रीमान् र भिनाजुबीच के के कुरा भयो मलाई थाहा भएन ।

एकाएक मलाई उपचारका लागि दिल्ली लैजाने कुरा भयो । यति सामान्य शल्यक्रियामा दिल्ली जाने कुराले कस्तो कस्तो लाग्यो । बिरामी भएर गएकी मलाई श्रीमान्ले कहिल्यै फोन गरेनन् । न त मेरो बाबा, भाइ, भिनाजुलाई नै गर्थे । राजीव गान्धी क्यान्सर अस्पताल गएँ । शरीर शिथिल र कमजोर भएको थियो । सामान्य बिरामी हुँदा पनि क्यान्सर अस्पताल किन लगियो, बुझिनँ, सोधखोज पनि गरिनँ ।

काठमाडौंमा शल्यक्रिया गरेर दिल्ली गएकी मैले एकदिन भिनाजु र बाबाबीच भएको जुन कुरा सुनें, त्यसले मरेतुल्य भएँ । बाथरुम गएकी थिएँ । नजिकै भएका भिनाजु र बाबाले मलाई नदेखेर होला कुरा गरिरहनुभएको थियो । उहाँहरू स्तन क्यान्सर भएको र डाक्टरले बचाउन नसकिने कुरा गरेको भन्दै हुनुुहुन्थ्यो । मलाई भाउन्न छुट्यो । बाथरुममै ढलेजस्तो भयो । एकछिन थचक्क बसें र बाहिर निस्कें ।

आफ्नो अवस्था थाहा पाएपछि बाबालाई यत्तिकै मर्छु, उपचार नगर्नु, घर फर्काउनु भनें । बाबाले केही हुँदैन भन्नुहुन्थ्यो । एउटी छोरीलाई मृत्युशøयामा राखेका बाबुको मनमा के चलेको हुँदो हो, कल्पना पनि गर्न सक्दिनथें ।

त्यसपछि दिल्ली आउने क्रम चलिरह्यो । डाक्टरले मर्छ भनेको भए पनि बाबामा आशा मरेको थिएन । शरीरका पूरै रौैं झरेका थिए । निलै भएकी थिएँ । यस्तो बेला श्रीमान्को माया पाएको भए आधा रोग यसै निको हुन्थ्यो होला । श्रीमान्को हिंसा र रोगसँग लडिरहेकी म कुन दिन संसारबाट बिदा हुने हो, टुंगो थिएन ।

घरपरिवार, आफन्त र साथीभाइ अनि अस्पतालको निरन्तर खटनले बिस्तारै निको हुन थालें, ममा परिवर्तन देखिन थाल्यो । चौथो केमोथेरापीपछि झरेका रांै पलाउन थाले । डाक्टरले अब केमो चढाउन नपर्ने तर इन्जेक्सन नियमित लगाउन पर्ने बताए । त्यसपछि म माइतीमै बसेर भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र राजीव गान्धी क्यान्सर अस्पतालमा नियमित उपचार गराउन थालें । उपचारकै क्रममा महिला आयोगमा श्रीमान् अस्मिलाल भट्टराई (अस्मिन) का विरुद्ध उजुरी दिने सोचें । म आफंै आयोगमा पुग्न सम्भव थिएन । भाइ र साथीमार्फत उजुरी दिएँ । आयोगले दुई पक्षलाई छलफलमा बोलायो । आयोगले गरेको सहमतिपत्र हात प¥यो । श्रीमतीको उपचार गर्ने, हेरचाह गर्ने, हालसम्मको उपचार खर्च व्यहोर्ने तथा विवाह गर्नेजस्ता बुदाँहरू रहेछन् । यो लेख लेख्दै गर्दा ठ्याक्कै एक वर्ष भएको छ ती बुँदाहरू बुँदामै सीमित भए, मान्छे भएको भए सुध्रिन्थ्यो, त्यो पुरुषको नाममा पत्थर कहिल्यै सुध्रिएन । आयोगमा गरिएको यो सहमतिपछि झनै बढी यातना शुरु भयो ।

मर्ने अवस्थामा पुगेकी मलाई यतिञ्जेल बेवास्ता गरेको श्रीमान्को फोेन त्यतिबेला आउन थाल्यो, जतिबेला म रोगसँग लडेर आफ्नो दैनिक जीवनमा फर्किन थालेकी थिएँ । दाइ–भाउजूलाई फोन गर्न लगाएर पटक–पटक सम्बन्धबिच्छेदका लागि दबाब दिन थाल्यो । औषधिमूलोले अलिअलि उभिन सक्ने भएकी मसँग जसरी पनि छुट्टिन चाहेको भन्ने बोली र विवाह दर्तासम्म नगरेकी श्रीमतीसँग एकैचोटि विच्छेद !

मेरो फूलजस्तो जीवन उसले पत्थरमा पछारेर कहालीलाग्दो बनाएको थियो । श्रीमान्को माया भएको भए रोगसँग कसरी लड्थें होला ? मेरो मनले उसलाई छोडपत्र दिन मानेन । मैले नमानेपछि पैसाको जालो फाल्न थाल्यो । खेतबारी खनी हात नङ्ग्रा खियाएर हुर्केकी म उसको पैसाको बिटोमा कसरी पग्लिन सक्थें ? मैले सञ्चालन गरेको राधा क्यान्सर सचेतना फाउण्डेसनलाई लाखौं पैसा दिने लालच देखायो ।

आफ्नै श्रीमान् यतिसम्म नीच हुँदा रहेछन् । फेरि अर्कोपटक घीनलाग्दो लाग्यो उसको अनुहार । उसलाई सार्वजनिक स्थलमा उभ्याएर मुखभरि थुकिदिऊँजस्तो भयो । पैसामा मेरो जिन्दगी लिलाम गर्न खोज्ने के ऊ पिचास हैन र ?

यसबीच म माइतीमै छु, मेरा बाबा, आमा, भाइ, हजुरबुबा, हजुरआमा अंकल–अन्टीसँगै । राधा क्यान्सर सचेतना फाउन्डेसन संस्था खोली गाउँ गाउँमा आमा, दिदी–बहिनीलाई मेरो जीवन बुझाउँछु, क्यान्सर चिनाउँछु र आत्मबलको बाटोमा हिँडाउँछु, जुन आत्मबलले म मरेर पनि बाँचेकी छु आज ।

गत वर्षदेखि मेरो नियमित चेकजाँच मात्र चलिरहेको केमियोथेरापी छुटाएपछि पहिलेकै अवस्थामा फर्कंदै छु– क्यान्सरले खाएको स्तन फालेर । तर उसले पटक पटक फोन गरेर घरसल्लाहको नाममा मेरो माइतीपक्ष र मलाई तनाव दिन छोडेन । पटक–पटक भेट हुँदा उनीहरूका कुरा पैसा दिएर छोडपत्र गराउने हुन्थ्यो । ऊ मसँगको नाता तोडी स्वतन्त्र भएर उम्लिन चाहन्थ्यो । म मेरो जीवनको कहालीलाग्दा रातहरूको कारकलाई किन उम्किन दिऊँ ? पटक–पटक उसले छोडपत्रका लागि दबाब दिन थालेपछि केही समयअघि मैले जिल्ला प्रहरी कार्यालय नवलपुरमा घरेलु हिंसाको उजुरी दिएँ । उजुरीपछि प्रहरीले २४ घण्टाका लागि उसलाई पक्रेर छलफल चलायो । छलफलमा उही सहमति, जुन वर्षपहिले राष्ट्रिय महिला आयोगमा भएको थियो । गत असार ३० गते प्रहरी कार्यालयमा १५ दिनभित्र गर्ने सहमति कुरेर बसेकी म र मेरा माइतीपक्षविरुद्ध उसले उल्टै अदालतमा मुद्दा हालेको छ भन्ने थाहा पाएकी छु ।

अस्पतालमै उपस्थित भएर मेरो उपचार गर्ने, हालसम्मको सबै खर्च दिने, श्रीमतीको स्याहार सुसार गर्ने भनेर प्रहरीसामु घुँडा टेकेको मान्छे कसको उक्साहट र चाहनामा अदालत पुगेको छ, पत्ता लाग्ला पक्कै । अदालतमा मुद्दा दिएको उसको जिकिर छ–मेरा माइतीले टुनामुना लगाएर क्यान्सर लाएकी छोरी उसलाई बिहे गरेर दिए । कुनै पनि छोरीका बाबुआमालाई आफ्नी छोरी कसैलाई भिडाउने मन किन हुँदो हो ? मन नै नभएको उसले यो कुरा किन महसुस गरोस् ?

यत्रो जीवन, यत्रो रोग, उसको यत्रो यातनाविरुद्ध लडेकी म किन एउटा मुद्दासँग डराउँथें र ? म मेरो सामाजिक यात्राबाट एक रत्ति पनि विचलित भएकी छैन न त उसको धम्की र व्यवहारबाट । खोजिरहेकी छु यस्ता नरपशुलाई कानुनी उपचार । म मेरो राधा क्यान्सर फाउन्डेसनबाट नै मजस्तै अरू राधालाई रोग क्यान्सर मात्र होइन, अस्मिनजस्ता क्यान्सरबारे बुझाउँछु । ऊजस्ताले गर्ने व्यवहार बुझाउँछु । बच्चैदेखिको रहर म अरूका लागि बाँच्छु । बस् अब मलाई कानुनी उपचारका लागी सहयोगी हात चाहिएको छ, अरू साहस म आफैं जुटाउँछु । तपार्इं पाठकसँग यही वाचा भयो ।

– कावासोती नगरपालिका–४, ब.सु.पूर्व (नवलपरासी)

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...