भारतीय प्रधानमन्त्री मोदीको पुतला जलाइयो

हाम्रो सन्देश संवाददाता

गोठालापानी, २१ कार्तिक ।

बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको छ । भारतले हालै सार्वजनिक गरिएको नक्सामा नेपाली भूमि राखिएको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुतला जलाइएको हो ।

कलाकार भानुभक्त जोशीको नेतृत्वमा पुर्चौडी नगरपालिकाका स्थानीय बासिन्दाले हाटमा रहेको राताशिला चिहानघाटमा मोतीको पुतला दहन गरेको त्यहाँबाट राजेश धामीले जानकारी दिए । ‘भारतीय विस्तारवाद मूर्दावाद, नरेन्द्र मोदी मूर्दावाद’ को नारा लगाउँदै उनीहरूले पुतला दहन गरेका थिए ।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलास्थित नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा समावेश गरेको छ ।

भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कूटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने माग रहेको छ । भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरूले नेपालको भूभाग भारतीय नक्साबाट हटाउनसमेत माग गरेका छन् ।

भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेपछि देशका अधिकांश स्थानमा विरोध प्रदर्शन भइरहेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...