डिल्लीबजार कारागारमा नेता गुरुङ र महराबीच ४५ मिनेट कुराकानी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ कार्तिक ।

डिल्लीबजार कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई नेकपा स्थायी समिति सदस्य एवं प्रमुख सचेतक देव गुरुङले भेटेका छन् । बिहीबार बिहान कारागार पुगेका गुरुङले महरासँग करिब ४५ मिनेट कुराकानी गरे ।

कान्तिपुर दैनिकको अनलाइन संस्करणका अनुसार संसद् सचिवालयमा कार्यरत कर्मचारीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएपछि पहिलोपटक नेकपाका नेता गुरुङले भेटेका हुन् । यसअघि पारिवारिक सदस्य बाहेक महराले अरु व्यक्तिसँग भेटघाट गरेका थिएनन् ।

समाचारमा जनाए अनुसार कानुनी परामर्शको लागि भन्दै महराले गुरुङलाई भेट्न खोजेका थिए । बिहीबार बिहान डिल्लीबजार कारागार पुगेका गुरुङसँग महराले कानुनी प्रक्रियाबारे परामर्श लिएका थिए ।

मुद्दाबारे परामर्श गर्न महराले नै भेट्न खोजेपछि उनलाई भेट्न कारागार पुगेको गुरुङले बताए ।

‘मुद्दाको प्रक्रियामा कसरी अगाडि बढ्दा ठिक हुन्छ भनेर कानुनी परामर्शबारे छलफल भयो’ सचेतक गुरुङले भने, ‘अहिले जे छ त्यही प्रक्रिया अनुसार जाने । पछि जिल्ला अदालतले गरेको आदेश चित्त बुझेन भने उच्च अदालत जाने । उच्च अदालतले गरेको आदेश चित्त बुझेन भने सर्वोच्च अदालत जाने भन्ने छलफल भयो ।’

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।